हुलाकी सडक हिलाम्य, बाटो अवरुद्ध, सरोकारबाला मैन


आलोक यादव

सिरहा । बहुचर्चित सडक आयोजना हुलाकी राजमार्ग हिलैहिलो भएका कारण आवतजावत नै अवरुद्ध भएको छ । लगातार तीन दिनदेखि परेको पानीले सडकमा प्रयोग गरिएको चिप्लो माटो हिलाम्य हुँदा हिँडन नसकिने अवस्थामा पुगेको हो ।

हुलाकी राजमार्ग अन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका, नबराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरिही गाउँपालिकाको विभिन्न स्थानमा हिलोले बाटो चिप्लो भए पछि आवतजावत नै अवरुद्ध भएको हो ।

सिरहा नगरपालिकासँग टाँसिएको बरियारपट्टी गाउँपालिकाको कचनारि, नर्गी ,कजरा लगायतको स्थानमा हिलामै कै कारण सवारी साधन चलाउन नै बन्द गर्नु परेको अटो रिक्सा चालक अनिल सदायले बताउनुभयो । एक दर्जन भन्दा बढीको संख्यामा सञ्चालनमा रहेको अटो रिक्सा, सफारी, भाडाका जीप चल्न बन्दा भएको अर्का चालक रामेश यादवले जानकारी दिनुभयो ।

भाडाका सवारी साधन सञ्चालनमा नआएपछि निजी मोटरसाइकल, साइकलमा सिरहा आउने र घर फर्किन २० मिनेटको बाटो तय गर्न दुई घण्टा लाग्ने गरेको बताइएको छ । मोटरसाइकल, साइकल ती सडक खण्डमा हिलोमा चिप्लेर दुई दर्जन भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको प्रत्यक्षदर्शी बिबेक यादवले बताउनुभयो ।

निर्माण कम्पनीले वर्षा अगाडि लामो समयदेखि माटो हालेर थप काम नगर्दा सामान्य वर्षामा बाटोमा हिड्न सकिने अवस्था छैन, स्थानीय अनिल यादवले भन्नुभयो, निमार्ण कम्पनीले आधा भाग ग्राभेल र आधा भाग माटोको काम गरेको भए यस्तो अवस्था हुदैन्थ्यो । माटो हालेको पाँच /छ महिना भयो, त्यसपछि थप काम गरेनन् ।

हुलाकी राजमार्गको स्तरोन्नती कार्य कछुवाको गतिमा भइरहेकोले भगवानपुर, गमहरिया,फुलबरिया, जगतपुर, कजरा, जिझोल,मझौरा, नरगीलगायत तीन दर्जन गाउँका बासिन्दाले सास्ती भोगनु परेको छ ।

तराई–मधेश विकासको मेरुदण्डको रुपमा बहुचर्चित हुलाकी सडकको स्तरोन्नती र पुल निर्माण कार्य कछुवा गतिमा चलिरहेको छ । वर्षाको प्रभावलाई मध्यनजर नगरी बाटो नै अवरुद्ध हुने गरी निर्माण कम्पनीले काम गर्दा बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा दस किलो मिटर बाटोको सट्टा ८० किलो मिटर लामो घुमारो बाटो तय गरी गन्तव्यमा पुग्न बाध्य भएको स्थानीवासीहरु बताउँछन् ।

तराई–मधेशको कृषि उत्पादनलाई बजारीकरण, विद्यालयसम्मको सहज पहुँच, स्वास्थ्य सेवा लगायत सबै क्षेत्रको विकासको आधार हुलाकी राजमार्ग भएका कारण स्तरोन्नती र पुल निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement