हुम्लामा लेदोसहितको पहिरो : तिलगाउँ उच्च जोखिममा

हुम्लामा लेदोसहितको पहिरो : तिलगाउँ उच्च जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ उच्च जोखिममा परेको छ ।

बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कालयले जनाएको छ ।

ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् ।

स्थानीयवासीले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टी हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको र बस्ती जोखिममा रहेको जानकारी दिए ।

पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको छ ।

हिमताल फुटेको भन्ने ठाउँ पाँच हजार तीन सय मिटरको उचाइमा पर्छ ।

सुरक्षाकर्मीको टोली त्यसतर्फ गए पनि स्वास्थ्य समस्याबाले बीच बाटोबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

तर पहिरोले क्षति पुर्‍याएको तिलगाउँमा भने सुरक्षाकर्मीको टोली पुगेर आवश्यक उद्धारको काम गरेको छ ।

लेदोसहितको ठूलो पहिरोले १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ ।

यस्तै पहिरोले करिब ४ सय रोपनीमा सिचाँई गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।