सीमाबारे बोलेको भन्दै हुम्लाका सहायक सिडिओलाई गृहको स्पष्टिकरण


काठमाण्डु – गृहमन्त्रालयले चीनसँगको सीमा विवादबारे गलत तथ्य दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई स्पष्टिकरण सोधेको छ ।

मन्त्रालयले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा सञ्चारमाध्यममा गलत सूचना दिएको भन्दै सहायक सिडिओ दत्तराज हमाललाई स्पष्टिकरण सोधेको हो ।

प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले हमाललाई कामुको जिम्मेवारी दिएर सीमा अतिक्रमणको विषयमा थप जानकारी लिन नाम्खा गाउँपालिकास्थित सीमामा गएका छन् ।

हमाललाई २४ घण्टाभित्र स्पष्टिकरण पठाउन गृहले पत्र काटेको स्रोतले जानकारी दियो । गृहले सीमाको विषयमा परराष्ट्र मन्त्रालयले बोल्ने भन्दै सञ्चारमाध्यमलाई गलत सूचना किन दिएको ? भन्दै स्पष्टिकरण सोधेको हो ।

‘सीमा विवाद सम्बन्धी समस्या परराष्ट्र मन्त्रालय मात्रै बोल्न मिल्छ । प्रमुख जिल्ला अधिकारी निरीक्षणमा गएकाले थप पुष्टि नहुने कुरा बोल्न मिल्दैन । त्यसैले उहाँलाई २४ घण्टै स्पष्टिकरण सोधिएको हो’, स्रोतले भन्यो ।

हमालले सीमा समस्याबारे गृह र परराष्ट्रलाई रिपोर्टिङ गरिएको बताएका थिए । उनले सिडिओ गिरी फिल्डबाट फर्किएपछि थप स्पष्ट हुने बताएका थिए ।

सिडिओ गिरी नेतृत्वको सीमा निरीक्षण टोलीले ११ नम्बर पिल्लर फेला पारेको छ । हराएको भनिएको उक्त पिल्लर हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ स्थित लिमीको माथि ताकुलेकमा भेटिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए । उनले चीनले भवन बनाएको ठाउँबाट पिलर भेटिएको ठाउँसम्म पुग्न दुई दिन लाग्ने बताए ।

परराष्ट्र मन्त्रालयले हुम्लामा चीनसँग सीमा विवाद नभएको र चीनले भवन निर्माण गरेको स्थान चिनियाा भूभाग भएको बताएको छ । त्यस्तै नेपालस्थित चिनियाँ दूतावासले पनि भवन निर्माण गरेको क्षेत्र आफ्नै भएको बताएको छ । दूतावासले भवन निर्माण गरेको स्थानबारे पहिचान गर्न नेपाललाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement