५२ वटा बैंक खातामार्फत १ अर्ब बढी हुण्डी कारोबार गर्ने महिला पक्राउ

५२ वटा बैंक खातामार्फत १ अर्ब बढी हुण्डी कारोबार गर्ने महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विभिन्न बैंक तथा वित्तीय संस्थाका ५२ वटा खाता प्रयोग गरी १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धरानकी ज्योति शाहीलाई पक्राउ गरेको छ ।

हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले शाहीलाई धरान उपमहानगरपालिका–५ खैरेनीबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार शाहीले ‘शाही मनि ट्रान्सफर’ को नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायतका विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गरेकी थिइन् ।

सिआईबीका अनुसार विदेशमा विभिन्न व्यक्तिले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई त्यसलाई स–साना रकममा विभाजन गरेर असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसका लागि कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यम प्रयोग गरिएको सिआइबीले जनाएको छ । यसरी विभिन्न व्यक्तिका खातामार्फत रकम स्थानान्तरण गरी हुण्डी कारोबार सञ्चालन गरेको प्रहरीको दाबी छ ।

हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा सिआइबीले वित्तीय कारोबारको अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा शाहीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी शाहीमाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारबारे पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।