५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ


काठमाडाै– नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएको रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेकाे हाे ।

प्रहरीले पर्साको विन्दवासनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा बस्ने पवन कुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ जेल रोड बस्ने अजय मानन्धर, पूर्वी चम्पारण जिल्ला मोतिहारी पञ्चायत चम्पापुर थाना रामगढवा मानाना बस्ने साविर मियाँ, मोतिहारी रक्सौल नगरपालिका वडा नम्बर ३ थाना रक्सौल बस्ने अशोक श्रीवास्तव र बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानी बस्ने अजय कुमार जैसवाल रहेका छन् ।

वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोवार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement