विश्वकप लिग–२ : दोस्रो खेलमा पनि नेपाल विजयी, नेदरल्यान्ड्स ५ विकेटले पराजित

विश्वकप लिग–२ : दोस्रो खेलमा पनि नेपाल विजयी, नेदरल्यान्ड्स ५ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

स्कटल्यान्डको डुन्डीमा गए राति भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । विश्वकप लिग–२मा यो नेपालको दोस्रो जित हो । पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको थियो ।

नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए । अर्धसतक बनाएका उनी प्लेयर अफ द म्याच घोषित भए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे । नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २ सय २५ रन बनाएको थियो । स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए ।

अब नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २१ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । स्कटल्यान्ड १७ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ ।

नेपालले अब अर्को खेल जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ । आठ टोली सहभागी विश्वकप लिग–२ ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो ।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।