विध्वंसात्मक गतिविधिमा संलग्न विप्लवका जोकोहीलाई पनि कार्वाही गछौं :आइजीपी खनाल


काठमाडौँ – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरी पूर्णरुपमा व्यावसायिक र पारदर्शी रहेको बताएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी खनालले अन्तर्रा्ष्ट्रिय समुदायले समेत नेपाल प्रहरीको प्रशंसा गरिरहेको बेला,तर नेपालभित्रै भने नेपाल प्रहरीप्रति नकारात्मक टिप्पणी बढी हावी भइरहेको खनालले बताएका हुन् ।

‘संयुक्त राष्ट्र संघसम्ममा नेपाल प्रहरीको प्रशंसा भइरहेको छ। अन्तर्रा्ष्ट्रिय समुदायले नेपाल प्रहरीलाई निकै राम्रो भनिरहेका छन्। हामीले हाम्रै पुलिसलाई किन राम्रो देख्न सकिरहेका छैनौँ’, आईजी खनालले भने,’ हामीले हामी राम्रो छौँ भनेर हचुवाको भरमा दावी गरिरहेका छैनौँ। त्यो डाटाले देखाउँछ। त्यही डाटाकै आधारमा अन्तराष्ट्रिय समुदायले प्रसंशा गरिरहेका छन्। नेपाल प्रहरी निरन्तर रुपमा सम्मानित भइरहेको छ।’

उनले सबैले विगारेको कामलाई आईजीले नै विगारेको भनेर चित्रण गर्न खोजिएको पनि दावी गरे। ‘केही पत्रकारले यो चाहियो र त्यो चाहियो भनेर मेसेज पठाउनु हुन्छ। ती म्यासेज मसँग सुरक्षित छन्। उहाँहरुका माग पूरा नभए मविरुद्ध लेखिने गरेको अनुभव पनि मसँग छ’, खनालले भने। मिडियामा नकारात्मकताले बढी प्राथमिकता पाएको गुनासो गर्दै सकारात्मक भएर लेखिदिन पनि उनले आग्रह गरे।

१३ वर्षपछि पनि हत्यारा पत्ता लागेको दावी गर्दै उनले निर्मला बलात्कार र हत्याका अभियुक्त पनि पक्राउ पर्ने उनको दावी छ। उनले संगठनभित्र अनुशासन विपरित र गैह्र व्यावशायिक गतिविधी गर्ने्विरुद्ध कडा कारबाही भइरहेको बताए। आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला हत्याकाण्डको अनुसन्धान भईरहेको पनि स्पष्ट पारे ।

खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दावी पनि गरे । उनले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने दावी पनि गरे । खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिए । उनले सो समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही हुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement