काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले आ–आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवं नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्यसफलताको शुभकामना दिँदै उनले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको बताए ।
नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । व्यक्तिगत स्वार्थभन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढीकरण र शुद्धीकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न उनले निर्देशन दिए । आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवं व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
आईजीपी थापाले संगठनको कार्ययोजना एवं लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताए । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय काम गर्न उनले आग्रह समेत गरे । आ–आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवं अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा पोखरेल, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवं निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिएका थिए ।
प्रतिक्रिया