प्रहरीले अपराध बिर्सँदैन, जुनसुकै बेला कानुनी दायरामा ल्याउँछ : आईजीपी कार्की

प्रहरीले अपराध बिर्सँदैन, जुनसुकै बेला कानुनी दायरामा ल्याउँछ : आईजीपी कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक घटनाका मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको स्विकार गरेका छन् ।

राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै प्रहरी महानिरीक्षक कार्कीले केही घटनामा राम्रो सफलता मिलेको बताएका हुन् ।

‘पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ, पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको छ । त्यसबाट केही–केही घटनामा राम्रो सफलता मिलेको छ ।’ उनले भने ।

उनले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याउने बताए ।

लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताउँदै उनले भने ‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटना बिर्सन्न।’

कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिए । नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेको उनले बताए ।

महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन र इन्टरपोलको माध्यमबाट अन्य मुलुकका विशिष्टीकृत, विकसित र लोकप्रिय अनुसन्धानमूलक इकाइसँग आवश्यक समन्वय गरिएको जनाएका छन् ।