आइजीपी खनाल इन्टरपोलको कार्यक्रममा सहभागी भई स्वदेश फिर्ता


काठमाडौँ – आइजीपी सर्वेन्द्र खनाल इन्टरपोलको १५ औँ सम्मेलनमा भाग लिएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल यही चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने सम्मेलनमा सहभागी हुन चैत २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

सम्मेलनमा एनसिबीको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तरराष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी नयाँ रणनीतिबारे छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा कुरा गर्दै आइजीपी खनालले सम्मेलनमा इन्टरपोलका १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी भएर एकआपसमा उच्च व्यवहारिकता आदानप्रदान गर्न प्लेटफर्म निर्माण भएको बताए । (एनसिबी) हरुको साथै इन्टरपोल सचिवालयको काम कारवाहीमा क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा समेत केन्द्रीत हुन सुझाव दिइएको र क्षेत्रीय समस्याहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत छलफल भएको उनले बताए।

तालिम उपलव्ध गराउने सन्दर्भमा क्षेत्रीय रुपमा र कार्यप्रकृति अनुसार हुनुपर्ने तथा हरेक तालिमको आवश्यकता पहिचान गरेर सोही अनुरुपको तालिम उपलव्ध गराउन समिति समेत गठन भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘त्यसमा पनि नेपाल प्रहरीले योगदान दिनुपर्ने छ ।’
साइबर अपराध, संगठित अपराध र लागूऔषधको अवैध कारोबार नियन्त्रणमा सम्मेलन विशेष रुपमा केन्द्रीत रहेको उल्लेख गर्दै आइजीपी खनालले साइबर अपराध नियन्त्रण गर्न र यस्ता अपराधमा संलग्न प्रयोगकर्ताहरूको तथ्याङ्क लिने काम हुने, जुन उपलब्धीपूर्ण रहेको बताए । यसबाट अपराध भएको रेकर्ड इन्टरपोल प्रधान कार्यालयलाई पृष्ठपोषण गर्न सजिलो हुनेछ । सदस्य राष्ट्रहरुले भोगेका समस्याका विषयहरु र (एनसिबी) हरुले इन्टरपोल प्रधान कार्यालयसँग आशा गरेका विषयमा समेत सम्मेलन बढी केन्द्रीत रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement