सरकारले यसरी बनाउदैंछ सशस्त्र र प्रहरीमा आईजिपी , यसै साता नियुक्तीको तयारी


काठमाडौं –सरकारले यसै हप्ता दुई सुरक्षा संगठनको प्रमुख नियुक्ति गर्ने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएपछि नयाँ महानिरीक्षक नियुक्तिको प्रक्रिया अघि बढेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै गृह मन्त्रालयको बागडोर सम्हालेका गृहसचिव प्रेमकुमार राईलाई आफू भारत भ्रमणबाट फर्किँदासम्म दुई महानिरीक्षक नियुक्तिको प्रस्ताव तयार गर्न निर्देशन दिएको बुझिएको छ।

सशस्त्र प्रहरीतर्फ एआईजीहरु शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायणबाबु थापा मध्येबाट सशस्त्र प्रहरी महानिरीक्षकको मुख्य दाबेदार हुन् भने नेपाल प्रहरीतर्फ सबै एआईजीहरुले चैत २८ मै अवकाश पाउने भएकाले गत वर्षजस्तै यस वर्ष पनि डीआईजीहरुमध्येबाट महानिरीक्षक नियुक्तिको निर्णय हुने भएको छ । डीआईजीहरु सर्वेन्द्र खनाल र रमेशप्रसाद खरेल नेपाल प्रहरीको महानिरीक्षकका मुख्य दाबेदार हुन् । खरेल र खनालका अलावा डीआईजीहरु पुष्कर कार्की र धिरु बस्न्यातले पनि महानिरीक्षक पदका लागि दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।

उच्च स्रोतका अनुसार डीआईजी कार्की कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की निकट भएकाले प्रधानमन्त्री ओलीले कार्कीलाई मन पराउंदैनन् । हालका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक रहेका कार्कीले एमाले सांसद नवराज सिलवाललाई फसाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विषयमा प्रधानमन्त्री ओली जानकार छन् ।

कार्कीलाई महानिरीक्षक बनाएमा पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतको समूह प्रहरीमा हावी हुने र सरकारको आर्थिक समृद्धि र सुशासनको पाटो ओझेलमा पर्ने भन्दै ओलीले कार्कीलाई महानिरीक्षक बनाउन चाहंदैनन् ।

गृह उच्च स्रोतका अनुसार सरकारले महानिरीक्षकका आकांक्षीहरुको ट्रयाक रेकर्ड अध्ययन गरिरहेको छ । आकांक्षीहरुको करियर ट्रयाक गर्दा नेपाल प्रहरीतर्फ सर्वेन्द्र खनाल र रमेशप्रसाद खरेलबीच चर्को प्रतिस्पर्धा देखिएको छ । खरेल २०४५ साल फागुन १ गते भलिबल खेलाडीको रुपमा प्रहरी जवानबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए । सेवा प्रवेशको करिब ११ महिनापछि २०४६ माघ २९ मा प्रहरी निरीक्षकको नाम निकाल्न सफल भएका खरेलसंगै खनाल पनि प्रहरी निरीक्षकबाटै सेवा प्रवेश गरेका थिए ।

डीएसपीदेखि एसएसपीसम्म खरेल सधैं पहिलो खनाल सधैं दोस्रो नम्बरमा बढुवा हुंदै आएका थिए । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा गरेको बढुवामा खनाल पहिलो नम्बरमा आए भने खरेल दोस्रो नम्बरमा धकेलिएका थिए । डीएसपीदेखि एसएसपीसम्म एक नम्बरमा रहेका खरेललाई देउवा सरकारले पूर्वाग्रही ढंगले दोस्रो नम्बरमा धकेलेर अन्यायमा पारेको अर्थमा प्रधानमन्त्री ओलीको खरेलप्रति सहानुभूति रहेको सहजै अनुमान लगाउन सकिन्छ । यता, खनालको पनि हालसम्मको कार्यसम्पादन तथा ट्रयाक रेकर्ड राम्रो रहेकोले उनको दाबी पनि उत्तिकै प्रभावकारी हुने अनुमान गरिएको छ ।

सशस्त्र प्रहरीतर्फ एआईजीहरु शैलेन्द्र खनाल र पुष्पराम केसीबीच चर्को प्रतिस्पर्धा देखिन्छ । तेस्रो वरीयतामा रहेका एआईजी नारायणबाबु थापाले महानिरीक्षकका लागि खासै इच्छा नदेखाएका कारण खनाल र केसीबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । खनाल व्यवसायीक क्षमता नभएका अधिकारी मानिन्छन् । उनी यसअघि वरियतामा केसीभन्दा जुनियर भएपनि कांग्रेस नेता विजय गच्छेदारको आर्शिवाद पाएपछि तीन नम्बरबाट एक नम्बरमा बढुवा भएका थिए ।

खनाल क्षमता नभएपनि चाप्लुसीमा भने अघि छन् । केसी व्यवसायीक अधिकृत मानिन्छन् । उनि विगतमा वरियतामा एक नम्बरमा भएपनि डिआईजीबाट एआईजीमा बढुवा हुंदा भने खनालभन्दा पछि बढुवा भएका थिए ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठक डाकेर दुवै सुरक्षा निकायका भावी महानिरीक्षकको नियुक्तिको निर्णय हुने अनुमान गरिएको छ । उच्च स्रोतकाअनुसार दुवै सुरक्षा निकायमा दुई नम्बरमा रहेका एआईजी केसी र डिआईजी खरेललाई भावी महानिरीक्षक बनाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement