काठमाण्डु– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनभित्र गलत काम गर्ने जोसुकैलाई पनि छुट नदिइने बताउँदै सशस्त्र प्रहरी कर्मचारीलाई जनताको दुःखका साथी बनेर काम गर्न निर्देशन दिएका छन्।
शुक्रबार कोशी प्रदेशस्थित सीमा क्षेत्रको निरीक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेलले राज्यले सुम्पिएको जिम्मेवारी र संगठनको म्यान्डेटलाई अक्षरशः तथा व्यावसायिक ढंगले पूरा गर्न कमाण्डर तहका अधिकृतहरूलाई निर्देशन दिएका हुन्।
उनले सीमा अपराधको जरासम्म पुगेर प्रभावकारी कारबाही गर्न, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी बनाउन र संगठनभित्र गलत गतिविधिमा संलग्न हुने जोसुकैलाई विभागीय कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।
पौडेलले नेपाल सरकारको सुशासनको नीति तथा गृहमन्त्रीबाट प्राप्त निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै उपलब्ध स्रोतसाधनको उचित उपयोग र परिणाममुखी कार्यसम्पादनमा जोड दिए।
उनले कुनै पनि युनिट वा कार्यालयमा नागरिकको गुनासो आउन नदिने गरी स्रोतसाधनको समुचित परिचालन गर्न निर्देशन दिँदै युनिटबाट हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी सम्बन्धित युनिट प्रमुखले लिनुपर्ने बताए। कमाण्डरहरू उच्च अनुशासनसहित प्रस्तुत हुँदै मातहतका कर्मचारीका लागि प्रेरणादायी उदाहरण बन्नुपर्ने उनको भनाइ थियो।
‘मैदानमा लड्न निस्किएको सिपाही हात खडा गरेर पछि हट्दैन। हामी सबै राष्ट्रका सिपाही हौँ। पछि हट्ने वा कुनै पनि किसिमको मोलाहिजा गर्ने छुट हामीलाई छैन,’ पौडेलले भने, ‘व्यावसायिक अडानका साथ प्राप्त जिम्मेवारी जवाफदेहितापूर्वक पूरा गर्नुहोस्।’
महानिरीक्षक पौडेलले प्रभावकारी कार्यसम्पादन नै फौजको व्यावसायिकताको मुख्य मापक भएको उल्लेख गर्दै सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा अवैध व्यापार नियन्त्रणमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्न निर्देशन दिए।
विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन निर्देशन
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापनको पर्यायका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पौडेलले प्रत्येक कमाण्डरले आफ्नो जिम्मेवारी क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम र चुनौतीको तथ्यगत पहिचान गरी प्रतिकार्य योजना तयार गर्नुपर्ने बताए।
उनले सीमावर्ती क्षेत्रका बासिन्दासँग नियमित अन्तरक्रिया गरी नागरिकको विश्वास र भरोसा जित्न तथा विपद्का बेला अहोरात्र खटिएर राहत र उद्धारमा जुट्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए।
नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापाले महानिरीक्षक पौडेलबाट प्राप्त निर्देशनअनुसार सीमा सुरक्षामा हुने अवैध गतिविधि नियन्त्रणका लागि निरन्तर काम भइरहेको जानकारी दिए।
उनले कोशी प्रदेशस्थित सशस्त्र प्रहरीका विभिन्न इकाइबाट भएका कामकारबाहीबारे जानकारी गराउँदै बाढी, पहिरो तथा डुबानको सम्भावित क्षेत्र पहिचान गरी विपद् उद्धार सामग्रीसहित जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताए।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरूलाई पनि महानिरीक्षक पौडेलले नागरिकको हित, सीमा सुरक्षा र जनअपेक्षालाई सर्वोपरि राखेर जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।
उनले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि, अवैध व्यापार तथा तस्करीविरुद्ध कडाइका साथ प्रस्तुत हुन र संगठनले लिएको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।
आर्थिक पारदर्शितालाई संगठनको मूल स्तम्भका रूपमा उल्लेख गर्दै पौडेलले कुनै पनि किसिमको आर्थिक कमजोरी स्वीकार्य नहुने बताए। सीमित स्रोतसाधनको उच्चतम उपयोग गर्दै परिणाममुखी काम गर्न, आवश्यक अवस्थामा बल प्रयोग गर्दा संयमता र धैर्यता अपनाउन तथा सर्वसाधारणसँग समन्वय र सद्भाव कायम गर्न उनले कमाण्डरहरूलाई निर्देशन दिए।
महानिरीक्षक पौडेलले अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीसँग पनि अन्तरक्रिया गरेका छन्। उनले अवकाशप्राप्त कर्मचारीलाई संगठनसँग निरन्तर जोडिराख्दै उनीहरूको अनुभव र ज्ञानलाई संगठनको श्रीवृद्धिमा उपयोग गर्नुपर्ने बताए।
कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हृदयनारायण मण्डलसहित पूर्वकर्मचारीहरूले अवकाशपछि पनि आफूहरू संगठनप्रति प्रतिबद्ध रहेको बताएका थिए।
पूर्वसशस्त्र प्रहरी कर्मचारीका लागि समय–समयमा स्वास्थ्य परीक्षणको व्यवस्था, नयाँ भर्नामा उनीहरूका सन्ततिका लागि कोटा निर्धारण, सीपमूलक तालिम तथा लागूऔषध नियन्त्रणलगायत सामाजिक अभियानमा पूर्वकर्मचारीलाई समेत सहभागी गराउनुपर्ने सुझाव उनीहरूले दिएका थिए।
सहिद परिवारसँग भेट
निरीक्षण भ्रमणका क्रममा महानिरीक्षक पौडेलले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग समेत भेटघाट गरेका छन्।
तत्कालीन माओवादी विद्रोहीसँगको भिडन्तका क्रममा दाङको धनौरीमा २०६१ असार २० गते वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारसँग भेट गर्दै पौडेलले सहिदप्रति उच्च सम्मान व्यक्त गरे।
उनले राष्ट्र र संगठनको हितका लागि ज्यानको आहुति दिएका सहिदका परिवारमा आइपर्ने समस्या समाधानमा संगठन सधैँ साथमा रहने बताए। सहिदको त्याग र योगदानकै कारण संगठन आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले समस्या परेमा नजिकैको सशस्त्र प्रहरी इकाइसँग सम्पर्क गर्न परिवारलाई आग्रह गरे।




प्रतिक्रिया