इलाम-२: नयाँ सत्ता समीकरणले एमालेलाई सहज, यस्तो छ अंकगणीत


काठमाण्डु- नेकपा एमालेले उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।

आइतवार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

गत वर्षको निर्वाचनमा पार्टीले पाएको समानुपातिक मत विश्लेषण गर्दा यसपटकको इलाम-२ उपनिर्वाचनमा जितका लागि नयाँ सत्ता समीकरणले एमालेलाई सहज भएको छ। विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सदर मतमध्ये सबैभन्दा धेरै नेकपा एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो।

त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो। अन्य साना पार्टीहरूले नौ सय मत कटाएनन्।

निर्वाचनमा माओवादी केन्द्रले समर्थनमा कांग्रेसका उम्मेदवार खड्का एमालेका उम्मेदवार स्वर्गीय नेम्वाङसँग एक सय चार मतले मात्र पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय छ मत पाएका थिए।

नयाँ सत्ता समीकरणसँगै यसपटक माओवादीको मत एमालेले पाउने भएपछि जितमा सहज हुने एमालेको विश्वास छ। तर, कोशी प्रदेश नामकरणसहित एमालेलाई पहिचान विरोधीको ट्याग लागेको छ। पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा उनीहरूको साझा उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारका कारण एमालेलाई पनि यो निर्वाचन जित्न त्यति सहज भने छैन।

गत वर्षको निर्वाचनमा इलाम-२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकामा ६९ हजार चार सय ८१ मत खसेको थियो। खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाँच सय ९६ मत बदर भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement