इमरान पत्नी बुशराद्वारा सजाय स्थगनको माग गर्दै अपिल

इमरान पत्नी बुशराद्वारा सजाय स्थगनको माग गर्दै अपिल


काठमाण्डु–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बिबीले इद्दत मुद्दामा आफ्नो सजाय स्थगन गर्न माग गर्दै इस्लामाबाद उच्च अदालतमा निवेदन दिएकी छिन् ।

हाल जेल सजाय विताइरहेकी बुशराले आफ्ना वकिल सलमान सफदरमार्फत निवेदन दर्ता गराएकी हुन् ।

बुशराका पूर्वपति खवर मेनकाले उनीहरूको विवाहको विरोधमा अदालतमा निवेदन दिएपछि भएको सुनुवाइको फैसला सुनाउँदै गत फब्रुअरीमा इमरान खान र बुशरालाई सात वर्षको जेल सजाय सुनाइएको थियो ।

५१ पृष्ठ लामो फैसलामा न्यायाधीशले उनीहरूको विवाहले बेइमानी झल्काएको र प्रत्येकलाई पाँच लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ । अदालतको फैसलापछि खान दम्पतीले जिल्ला अदालत तथा आपराधिक मुद्दाहरू हेर्ने विशेष अदालतमा आफ्नो सजायविरुद्ध याचिका दायर गरेका थिए । तर, मेनकाले सुनुवाइका लागि तोकिएका न्यायाधीश शाहरुख आरजुमान्डमाथि अविश्वास प्रकट गरेपछि यो मुद्दा अतिरिक्त जिल्ला अदालत र पुनरावेदन अदालतका न्यायाधीश मोहम्मद अफजल माजुकालाई हस्तान्तरण गरिएको थियो ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले यस विकासको आलोचना गर्दै यसलाई ‘न्यायको प्रावधानमा जानाजानी विलम्ब’ गरिएको बताएको छ ।

पीटीआईको विशेष समितिले पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुशरा तत्काल जेलबाट रिहा गर्न योग्य रहेको बताएको छ ।