पाकिस्तानमा इमरान खान प्रधानमन्त्रीमा निर्वाचित,सेनासंगको सम्बन्ध सुमधुर हुने विश्लेषण


इस्लामाबाद–पुर्व क्रिकेटर इमरान खान पाकिस्तानको नयां प्रधानमन्त्रीमा चयन भएका छन् । पाकिस्तान तहरीक ए–इंसाफका चीफ समेत रहेका खानलाई शुक्रबार राष्ट्रिय सदनले प्रधानमन्त्री चयन गरेको हो । प्रधानमन्त्रीको निर्वाचनमा उनले १ सय ७६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी शहबान शरिफले ९६ मत पाएका थिए ।

पाकिस्तानमा गत जुलाई २५ मा भएको चुनावमा खानको पार्टी सबैभन्दा ठुलो पार्टीको रुपमा अगाडी आएको थियो । उनले शनिवार प्रधानमन्त्री पदमा शपथ लिने कार्यक्रम छ । यससंगै इमरान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा नाम लेखाउन सफल भएका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित खानको पाकिस्तानी सेनासंगै निकै समुधुर सम्बन्ध छ । पाकिस्तानको राजनीतिमा सेनाको निकै ठुलो प्रभाव रहेको छ ।पाकिस्तानको राजनीतिमा भ्रष्टाचारविरोधी छवी बनाएका इमरानबाट पाकिस्तानका जनताले ठुलो आशा राखेका छन् । उनले आफु सेनाको प्रभावमा नरहेको बताउंदै आएपनि सेना पाकिस्तान देशकै भएकाले त्यसलाई साथमा राखेर काम गर्ने उनले बताइसकेका छन् ।

इमरानले भारतसंगको सम्बन्ध शान्तिपुर्ण हुने बताइसकेका छन् भने तालिवानले गर्दै आएको हिंसाको भने चर्को आलोचना गरेका छन् । पाकिस्तानमा अमेरिकाले गर्दै आएको ड्रोन हमलाको पनि उनले खुलेरै विरोध गरेका छन् । कतिपयले उनको चीनसंगको सम्बन्ध अझै सुमधुर हुने विश्लेषण समेत गरको छन् ।

खानलाई कतिपयले एन्टी अमेरिकन भएको आरोप समेत लगाउने गरेका छन् । ६५ बर्षीय इमरान अक्सफोर्डमा पढेका धनाढ्य हुन् । उनलाई विश्वका एक सर्वकालिन क्रिकेटरको रुपमा सारा संसारले सम्मान समेत गर्छ । सन् १९९२ को विश्वकप समेत उनै इमरानको नेतृत्वमा पाकिस्तानले हात पारेको थियो । खान सन् १९९६ बाट राजनितीमा लागेका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement