इन्डो प्यासिफिक रणनीति भारतलाई तर्साउन होइन : अमेरिका


काठमाडौं – अमेरिकाले इन्डो–प्यासिफिक रणनीति कुनै मुलुकलाई तर्साउन नभई सहकार्य गर्न अघि बढाएको स्पष्ट पारेको छ । हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति तय भएको अमेरिकी भनाइ छ ।

अमेरिकाका अनुसार इन्डो भनेको भारतमात्र नभई समग्र हिन्द महासागर क्षेत्र हो । दक्षिण एसिया मामिला हेर्ने उपसहायक मन्त्री डेभिड जे रेन्जले भने, ‘हिन्द र प्रशान्त क्षेत्रमा अमेरिकी दृष्टि राख्दा हामी भारतलाई भुल्न सक्दैनौं । सबै दृष्टिले भारत यो क्षेत्रको मुख्य खेलाडी हो ।’ उनले भारतसँग अमेरिकी सम्बन्ध ‘विन–विन’ रहेको बताए । इन्डो–प्यासिफिक रणनीति अमेरिकाले सहकार्यका लागि तय गरेको उनले बताए । उनले भने, ‘सबैले आफ्नो मुलुकको स्वार्थ, आर्थिक विकास र सहकार्यका लागि सम्बन्ध अघि बढाउने हो । यो हरेक मुलुकसँग रहन्छ।’

सरकारी अधिकारी र थिंक ट्यांकसँगको छलफलपछि मंगलबार दैनिक पत्रिकाका केही पत्रकारसँग छलफल गर्दै उनले भने, ‘नेपालसँगको हाम्रो सहकार्य कसैलाई काउन्टर दिन होइन र कुनै अन्य मुलुकप्रति लक्षित पनि छैन ।’ नेपाल अमेरिकाको प्राथमिकतामा रहँदै आएको उनले बताए ।

नेपालले पनि यो क्षेत्रमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ । उनले भने, ‘इन्डो भनेको भारत भन्ने आमबुझाइ पाएँ । त्यो गलत हो । भारत नभई हिन्द महासागर भन्न खोजिएको हो । इन्डो प्यासिफिकअन्तर्गत हिन्द र प्रशान्त महासागर आसपासका क्षेत्र रहन्छन् ।’

नेपालले पनि दक्षिण एसियामा भूमिका निर्वाह गर्न सक्ने अमेरिकी बुझाइ रहेको उनले स्पष्ट पारे । उपसहायक मन्त्री रेन्जले भारतीय स्वतन्त्रतापछि नेपाल र अमेरिकाबीचको निकटतम सम्बन्ध कायम भएको बताए । उनले भने, ‘यस क्षेत्रमा नेपालको महत्वलाई अमेरिकाले कम आंकलन गरेको छैन । हामी पनि नेपालसँग सहकार्य गर्न चाहन्छौं ।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement