काठमाण्डु – नेपालस्थित भारतीय राजदूतावासले भारत सरकार नेपाली विद्यार्थीको भलाइ सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
भारतको उडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्राबासमा नेपाली छात्रा रुपन्देहीकी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विकासित घटनाक्रमका सन्दर्भमा दूतावासले सोमबार विज्ञप्ति जारी गरेको छ ।
दूतावासले भनेको छ, ‘भारत सरकार नेपाली विद्यार्थीहरूको भलाइ सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्न प्रतिबद्ध रहेको छ ।’
दूतावासले उडिसामा अध्ययनरत नेपाली विद्यार्थीको दुःखद निधनमा गहिरो शोक व्यक्त गर्दै कठिन घडीमा मृतकको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
‘दूतावास केआईआईटीका अधिकारीहरू साथै उडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । दूतावासलाई स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी दिएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्किन, कक्षा पुनः सुरु गर्न र छात्रावासमै बस्न आग्रह गरेको छ । संस्थानले विद्यार्थीहरूको शैक्षिक क्षतिलाई सम्बोधन गरिने प्रतिबद्धता जनाएको छ ।’
भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू २ देशबीचको सुदृढ जनस्तरको सम्बन्धको महत्वपूर्ण हिस्सा रहेका दूतावासले जनाएको छ ।
यसअघि केआईआईटीले नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्केर कक्षा लिन अपिल गरेको थियो ।
प्रतिक्रिया