को-को बन्दैछन् भारतमा गृह, रक्षा र विदेशमन्त्री ?

को-को बन्दैछन् भारतमा गृह, रक्षा र विदेशमन्त्री ?


काठमाण्डु –भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा आज शपथ लिदैंछन् । उनको शपथ ग्रहण समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित बंगलादेश, श्रीलंका, मालदिव्स, भुटान, मारिशस, सेसेल्सका सरकार प्रमुखहरू पनि आज नयाँ दिल्ली पुग्दैछन् । मोदीले साँझ सवा सात बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

यसअघि शक्तिशाली सरकार चलाएका मोदी यसपटक भने नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) का सहयोगी दलहरूको टेकोमा सरकार बनाउँदैछन् । मोदी आवद्ध भारतीय जनता पार्टीले बहुमत ल्याउन नसक्दा अन्य दलहरूलाई साथमा लिएर सरकार बनाउन लागेका हुन् ।

सरकार गठनका लागि ३२ सिट अपुग भएपछि मोदीले चन्द्रबाहु नायडू नेतृत्वको तेलगु देशम पार्टी, नितिश कुमार नेतृत्वको जनता दल यूनाइटेड, पवन कल्यान नेतृत्वको जन सेन र चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टीको सहयोगमा गठबन्धन सरकार बनाउन लागेका हुन् ।

शपथपछि प्रधानमन्त्री मोदीले करिब ४० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्ने र नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तयारी रहेको भारतीय सञ्चारमाध्यमरूले जनाएका छन् । सम्भावित मन्त्रीहरूको सूची तयार भइसकेको छ भने मन्त्रिपरिषद्‍मा भाजपाको दबदबा रहेकोछ ।

मोदीले सहयोगी दलका लागि मन्त्रालय पनि टुंगो लगाइ सकेका छन् । मन्त्रिपरिषदमा भाजपाबाट नितिन गडकरी, प्रतापराव जाधव, पीयूष गोयलको नाम पक्का छ । बिहारका चिराग पासवान पनि मन्त्री बन्ने जनाइएको छ ।

इन्डिया टिभीका अनुसार मोदीसहित एनडीएका १४ सहयोगी दलका करिब तीन दर्जनभन्दा बढी सांसदले मन्त्री पदको शपथ लिनेछन् ।

सबैको नजर रहेको गृह, रक्षा र विदेश मन्त्रालय सत्तारुढ भाजपाले आफूसँगै राखेको छ ।

इन्डिया टिभीको समाचार अनुसार भाजपा अध्यक्ष अमित शाह गृहमन्त्री र पूर्वअध्यक्ष राजनाथ सिंह रक्षामन्त्री बन्दैछन् । सिंह यसअघि पनि रक्षामन्त्री थिए । विदेशमन्त्री एस जयशंकरलाई पुनः सोही मन्त्रालयको जिम्मेवारी तोकिदैछ ।

भारतमा अर्को महत्वपूर्ण मानिएको रेल मन्त्रालय अश्विनी वैष्णवले सम्हालने छन् भने नितिन गडकरीलाई परिवहन मन्त्री बनाइदैछ । मोदीले बित्तमन्त्री कसलाई बनाउने हुन अझैसम्म खुलेको छैन ।