काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकर चीन भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार जयशंकर सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन जुलाई १३ देखि १५ सम्म वेइजिङ भ्रमणमा जाने भएका हुन्। यो सम्मेलनमा सदस्य राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ।
उनले सम्मेलनमा सहभागि हुनुअघि वेइजिङमा चिनियाँ समकक्षी वाङ यीसंग द्विपक्षीय हितका मुद्दामा छलफल गर्नेछन्। जहाँ सीमामा सैनिक हटाउने, कैलाश मानसरोवर यात्राको सहजता, एयर कनेक्टिभिटी, भिसा, व्यापार र जनस्तरको सम्बन्ध सुधारमा समेत ठोस प्रगति हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय भारत र चीनबीच सम्बन्ध सुधार हुँदै गएको छ। दुबै देशबाट उच्चस्तरीय भ्रमणहरू भइरहेका छन्। खासगरी भारतबाट उच्च तहको चीन भ्रमणले सम्बन्ध सुधारका संकेत देखाएको विश्लेषकहरू बताउँछन्। यद्यपि, भारतले अझै पनि सीमा विवादलाई सम्बन्ध सामान्यीकरणको मुख्य पूर्वशर्त बनाएको छ।
दुवै देशबीच तत्काल विवाद समाधान नभएपनि संवादलाई निरन्तरता दिन तयार हुनुले आगामी दिनमा सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ। भारत चीनसंग व्यवहारिक सम्बन्ध विस्तार गर्ने रणनीतिमा देखिएको छ भने चीनले भारतलाई अमेरिकासंगको सम्बन्धबाट टाढा राख्न खोजेको छ। पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमले भारतीय नेतृत्व समेत झस्किएको छ।
अमेरिकाले पाकिस्तानको सैनिक नेतृत्वलाई उच्च महत्व दिएको र भारत- पाकिस्तान युद्धमा पनि मध्यस्थताको नाममा अमेरिकाले गलत भूमिका खेलेको बुझाइ भारतीयहरूबीच छ। यसले अमेरिका र भारतको सम्बन्धमा थप चिसोपना ल्याएको छ।
पछिल्लो समयमा सिपेकमा पाकिस्तानको सरकारी तहबाट अवरोध आएपछि त्यसले चीन-पाकिस्तान सम्बन्ध पनि खराब बनाएको छ। यसै परिवेशमा अहिले भारत र चीनको सम्बन्ध सुधार हुन सक्ने अनुमान गरिएको छ।
भारतबाट रक्षा मन्त्री राजनाथ सिंहको जुन महिना चीनको छिङदाओ भ्रमण भएको थियो। त्यहाँ उनले चिनियाँ समकक्षी डोंङ जुनसँग भेटवार्ता गर्दै स्थायी समाधान र विश्वासको पुनर्निर्माणको रोडम्याप सुरु गर्ने सहमति गरेका थिए। जसले दुवै देशको सैन्य सम्बन्ध सुधार गर्न पनि मद्दत गरेको थियो। त्यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्री पनि चीन भ्रमणमा गएको थिए।
उच्चस्तरीय भ्रमणका क्रममा दुवै देशबीचको सम्बन्ध सुधार, संवाद पुनःस्थापना र रणनीतिक सन्तुलनमा जोड रहेको धेरै विश्लेषकहरूको बुझाइ छ।
चीन र भारतबीच दलाई लामा र उनको पुनर्जन्म प्रक्रियाबारे समेत असहमति रहेको छ र पाकिस्तानको आतंकवादबारे चीनले भारतको दृष्टिकोणमाथि असहमति व्यक्त गरेको पनि देखिएको छ।
भारतिय विदेशमन्त्रीको चीन भ्रमणपछि चिनियाँ विदेशमन्त्री पनि अगस्त महिनामा भारत आउने तयारीमा छन्। यहाँ भारतीय सुरक्षा सल्लाहकार र चिनियाँ विदेशमन्त्रीले नेतृत्व गर्ने संवाद संयन्त्रको बैठक समेत बस्नेछ। त्यसपछि भारतीय प्रधानमन्त्रीको यस वर्ष नै चीन भ्रमण हुने अनुमान गरिएको छ।
प्रतिक्रिया