कांग्रेसमा नेतृत्वको भयानक संकट, देशभर कतै मिलेन नयाँ अध्यक्ष ?


काठमाडौं । लोकसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए ।

शुरूमा त उनको राजीनामा फिर्ता गराएर उनैलाई अध्यक्ष बनाइराख्ने कोसिस भयो । तर उनले मान्दै मानेनन्, अध्यक्ष पदमा फिर्ता भएनन् । अन्नतः शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेको छ ।

कांग्रेसको भावी अध्यक्ष को होला ? यसबीच थुप्रै चर्चा–परिचर्चा भए । कांग्रेसले आफ्नो नयाँ अध्यक्ष खोज्न सकेन । अन्ततः यसअघि लामो समय पार्टी नेतृत्व सम्हालेकी सोनिया गान्धीलाई पार्टीले अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ ।

राजनीतिक प्रतिस्पर्धामा हरेक पार्टीमा नेतृत्व विकास हुँदै जानुपर्छ । आवश्यकता अनुसार नेतृत्व हस्तान्तरण र जिम्मेवारी बहन गर्नुपर्छ । राहुल गान्धी नेतृत्व हस्तान्तरण गर्न तयार भए तर कांग्रेसमा नेतृत्व बहन गर्ने नयाँ मान्छे किन भेटिएनन् ? यो प्रश्नले कांग्रेसमा नयाँ अध्यक्षको भयानक संकट रहेको अनुमान लगाउन सकिने ठाउँ छ ।

कांग्रेस पार्टीमा गान्धी परिवारको लिगेसी जोडिएको छ । त्यही भएर सोनिया गान्धी र राहुल गान्धी पार्टी अध्यक्ष भइसकेका छन् भने प्रियंका गान्धी पार्टी महासचिव छिन् । पार्टीका महत्वपूर्ण पदमा गान्धी परिवार मात्रै किन बस्छन् ? पार्टीका अरु नेतालाई जिम्मेवारी दिइँदैन कि अरुले आँट गर्दैनन् ?

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शनिबार तीन वटा निर्णय गरेको सार्वजनिक गरिएको छ । बैठकपछि पार्टी प्रवक्ता रणदीप सुरजेवालाले कार्यसमितिबाट तीन वटा सर्वसम्मत निर्णय गरिएको बताए । यस्ता छन् ती निर्णय :

– राहुल गान्धीले आशाको नयाँ किरणका रुपमा आएर पार्टीको नेतृत्व गरे, यसका लागि पार्टीले धन्यवाद दियो । लोकसभा चुनावमा मिलेको हारपछि राहुल गान्धीले हारको जिम्मेवारी लिँदै अध्यक्षबाट राजीनामा दिए । उनको राजीनामा स्वीकार गरिएको छ । यद्यपि उनलाई आग्रह गरिएको छ कि आगामी दिनमा उनले पार्टीलाई बाटो देखाउँदै रहुन् ।

– कार्यसमितिमा कांग्रेसका सबै प्रदेश नेताको विचार सुनेर राहुल गान्धीलाई पदमा रहिरहन प्रस्ताव गरिएको थियो । राजीनामा फिर्ता लिन राहुल गान्धीलाई अपिल गरियो, उनले त्यसलाई अस्वीकार गरिदिए । त्यसपछि सोनिया गान्धीलाई आग्रह गरियो कि उनले पार्टीको कार्यभार सम्हालुन् । पार्टीमा पूर्णकालीन अध्यक्षको चुनाव नभएसम्मका लागि सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरियो ।

– कार्यसमिति बैठकमा जम्मू–कश्मीर मुद्दामा समेत छलफल भयो । जसमा सरकारलाई आग्रह गरिएको छ कि त्यहाँको अवस्था बुझ्न विपक्षी पार्टीको एक टोली जम्मू–कश्मीर पठाइयोस् ।

बैठकपछि राहुल गान्धीले जम्मू–कश्मीर मुद्दाबारे भने, ‘जम्मू–कश्मीरको अवस्था खराब छ । अहिलेको आवश्यकता के हो भने पारदर्शिता कायम गर्दै प्रधानमन्त्री र सरकारले जम्मू–कश्मीरको अवस्था देशलाई बताउनुपर्छ ।’

दोस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदी भारतमा विभिन्न नयाँ–नयाँ काम गरिरहेका छन् । मुस्लिम समुदायभित्रको तीन तलाक विकृतिदेखि जम्मू–कश्मीरको विशेषाधिकार हटाउनेसम्मका काम गरेर मोदी सरकार विवाद र बहसमा छ । सरकारका गतिविधिमाथि खबरदारी गर्नुपर्ने प्रतिपक्षी कांग्रेस नेतृत्व नपाएर रुमल्लिएको छ ।

अध्यक्ष राहुल गान्धीले हार स्वीकार्दै पदबाट राजीनामा दिएको अवस्थामा समेत फेरि उनैलाई पद सम्हाल्न आग्रह गरिनु, चुनाव हारेको लामो समयसम्म पार्टी अनर्णित हुनु र अन्तिममा नयाँ अध्यक्ष चुन्न नसकेर पुरानै सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउनुले भारतीय कांग्रेसमा नेतृत्वको संकट प्रस्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement