राजनीतिमा उथलपुथलपछि १३ सांसदले दिए राजीनामा, संकटमा कांग्रेस


नयाँदिल्ली – हालसालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय कांग्रेसलाई नराम्रो झड्का लाग्यो । प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको अनुमानबीच उनले अघिल्लो निर्वाचनभन्दा राम्रो नतिजा ल्याए ।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए भने उनले विरासतपूर्ण पुख्र्र्यौली क्षेत्र अमेठीमा पराजित हुनुपर्यो ।

पार्टी अध्यक्षको पराजय, राजीनामा लगायतका उल्झनमा परेको भारतीय कांग्रेसलाई अर्काे झड्का लागेको छ । राजनीतिमा भइरहेको उथलपुथलले कांग्रेस संकटमा परेको छ भने भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा भइरहेको छ ।

भारतको कर्नाटक राज्यमा सत्तारुढ गठबन्धनका १३ सांसदले राजीनामा दिएका छन्, जसबाट राज्य सरकार अल्पमतमा पर्ने देखिएको छ । सरकार बनेको १३ महिनामै राज्यका सांसदले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा १० कांग्रेस सांसद छन् भने तीन जनता दल सेक्युलरका सांसद छन् ।

विधानसभा अध्यक्ष केआर रमेश बिदामा भएका कारण राजीनामा स्वीकारको निर्णय भने हुन सकेको छैन । सबैको राजीनामा स्वीकृत भएमा २२४ सांसद रहेको विधानसभामा गठबन्धनको ११८ सिट घटेर १०५ मा झर्र्नेछ ।

राज्यमा विपक्षी र केन्द्रमा सत्तारुढ रहेको भाजपाको समेत राज्यमा १०५ सिट रहेको छ । यसरी कर्नाटक राज्यमा कांग्रेस गठबन्धनको सरकार गिर्र्नेछ भने भाजपाको सरकार बन्ने सम्भावना देखिएको छ । अध्यक्षले मंगलवार कार्यालय आएर राजीनामाबारे निर्णय लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय राजनीतिमा पछिल्लो समय भाजपाले कब्जा जमाउँदै गएको छ । केन्द्र सरकार हुँदै भारतीय कांग्रेस राज्य सरकारबाट समेत अलग हुँदै गएको छ । कांग्रेस लगातार सत्ताबाट बाहिरिँदै गइरहेको अवस्थामा भाजपाले केन्द्र हुँदै राज्यसम्म सरकार विस्तार गरिरहेको छ ।

कर्नाटकमै अझै ५–६ सांसदले राजीनामा दिनसक्ने चर्चा समेत चलेको छ । कांग्रेसका चर्चित नेता तथा पूर्व मन्त्री आर रामलिंगा रेड्डीले पनि राजीनामा दिएपछि राजनीतिमा हलचल मच्चिएको छ ।

केन्द्रीय राजनीतिमा भाजपाको उदय र त्यसपछि भइरहेका राजनीतिक उथलपुथलले भाजपा अझै केही वर्ष भारतीय राजनीतिको शीर्षस्थानमा रहने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement