निर्वाचन प्रचारमा हिन्दू-मुस्लिम धार्मिक भड्काव, मुख्यमन्त्रीकै जिब्रोमा ताला !


काठमाडौं – भारतमा आमनिर्वाचनको घमासान चलिरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतीय कांग्रेसबीच देशभर मुख्य प्रतिस्पर्धा भएपनि कतिपय क्षेत्रीय दलले समेत भाजपालाई टक्कर दिइरहेका छन् । विश्वकै ठूलो र पुरानो लोकतान्त्रिक देश भनेर दाबी गर्ने भारतको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अस्वस्थ प्रतिस्पर्धा समेत भइरहेको छ । निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभाव पार्ने अवस्था आएका कारण निर्वाचन आयोगले कतिपय चर्चित नेतालाई बोल्न नै प्रतिबन्ध लगाउनुपरेको छ ।

निर्वाचन आयोगले उत्तर प्रदेशका बहालवाला मुख्यमन्त्री योगी आदित्यनाथ र चार पटक प्रदेशमा मुख्यमन्त्री भइसकेकी बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीमाथि प्रचारप्रसार गर्न र चुनावी अभिव्यक्ति दिन प्रतिबन्ध लगाएको छ । चुनाव प्रचारका क्रममा संविधानविपरीत धार्मिक भड्काव भाषण दिएको दुवैमाथि आरोप छ ।  भारतमा निर्वाचन शुरू भइसकेको छ । विभिन्न चरणमा विभिन्न प्रदेशमा निर्वाचन जारी रहेका बेला प्रचारप्रसार समेत तीब्र भएको छ । लोकसभा निर्वाचन प्रचारका क्रममा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना हुने देखिएपछि आयोगले मुख्यमन्त्री योगी आदित्यनाथलाई ७२ घण्टासम्म चुनावी अभियान सञ्चालनमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वमुख्यमन्त्री तथा अध्यक्ष मायावतीले उत्तर प्रदेशका मुस्लिमलाई एकजुट भएर आफ्नो गठबन्धनमा भोट दिन सार्वजनिक आह्वान गरेपछि मुख्यमन्त्री योगीले मायावतीको पार्टीले ‘अली’मा विश्वास गर्ने भए ।आफूहरूले ‘बजरंगबली’मा विश्वास गर्ने अभिव्यक्ति दिएका थिए ।

अलीमा मुस्लिम समुदायमा आस्था राख्छन् भने बजरंगबलीमा हिन्दू समुदायले आस्था राख्छन् । दुवै नेताले धार्मिक आस्थाका आधारमा मतदातालाई विभाजित गर्न खोजेपछि निर्वाचन आयोगले दुवैलाई प्रतिबन्ध लगाएको हो ।

मायावतीलाई ४८ घण्टा प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ । भारतमा धार्मिक आस्थाका आधारमा राजनीति गर्न, मत माग्न र प्रचारप्रसार गर्न गैरकानूनी मानिन्छ । प्रतिबन्धको लहर दुवै नेतामा मात्रै सीमित छैन । मायावतीको गठबन्धनमा रहेको समाजवादी पार्टीका नेता आजम खानमाथि समेत आयोगले प्रतिबन्ध लगाएको छ । भाजपा नेता जया प्रदामाथि गरिएको टिप्पणीपछि खानमाथि ७२ घण्टे प्रतिबन्ध लगाएको छ । खानको टिप्पणीमाथि भारतीय महिला आयोगले गम्भीर आपत्ति जनाएको छ । खानले चुनाव प्रचारमा भनेका थिए, ‘रामपुरबासीले जसलाई चिन्न १७ वर्ष लगाए, मैले उनलाई १७ दिनमै चिनिसकेको थिए । उनको अन्डरवियरको रंग खाकी छ ।’ महिला आयोगले समेत खानसँग स्पष्टीकरण मागेको छ ।

चर्चित भाजपा नेता मेनका गान्धीमाथि समेत निर्वाचन आयोगले ४८ घण्टे प्रतिबन्ध लगाएको छ । गान्धीको एउटा बयान सामाजिक सञ्जालमा भाइरल भएपछि आयोगले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भिडियोमा गान्धीले भनेकी छन्, ‘म जित्दैछु, समर्थकको मद्दत र प्यारले जित्दैछु । तर मेरो जीत मुस्लिम भोट विना नै भए मलाई राम्रो लाग्ने छैन ।  किनकि मेरो दिल खट्टा हुनेछ । फेरि मुसलमानहरू केही काम लिएर आए भने म सोच्नेछु कि छाडिदिऊ के फरक पर्छ र ?’

अप्रिल ११ मा शुरू भएको भारतको तल्लो सदन लोकसभा निर्वाचन विभिन्न सात चरणमा सम्पन्न हुँदैछ । मे १९ मा मतदान सकिएपछि मे २३ तारिखमा निर्वाचन परिणाम घोषणा हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement