भारतको गुजरातमा पुल भत्किँदा १४३ जनाकाे मृत्यु


काठमाण्डु – भारतको गुजरात मोरबीस्थित मच्छू नदीमा बनाइएको पुल भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको हो। मच्छु नदीमा उद्धार कार्यलाई तीव्र बनाउन सेनाको सहयोग लिइएको छ।

अहिलेसम्म १७७ जना मानिसको उद्धार भइसकेको समाचारमा उल्लेख छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। आइतबार छठ पर्वको लागि ठूलो संख्यामा मानिसहरु भेला भएको बेला पुल भत्किएको हो।

अधिकारीहरुका अनुसार यो पुलको वरपर करिब पाँच सय मानिसहरु छठ पर्व मनाइरहेका थिए। केही दिनअघि मात्र मोरबीको पुल मर्मतपछि स्थानीयका लागि खुला गरिएको थियो।

यो दुर्घटनामा परी मृत्यु हुनेमा धेरैजसो मोरबीको आसपासका मानिसहरु छन्। यो घटनासँगै तीनदिने गुजरात भ्रमणमा रहेका मोदीले आफ्ना कार्यक्रमहरु पनि रद्द गरेका छन्।

मोरबी दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले मोरबीमा भएको त्रासदीबाट आफू दुःखी भएको भन्दै राहत र उद्धार कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक पीडित परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

यस्तै मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५०-५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले पनि घटनामा परि ज्यान गुमाउनेप्रतिस दुःख व्यक्त गरेकी छन्। मणि मन्दिर नजिकैको १ दशमलव २५ मिटर चौडा र २ सय ३३ मिटर लामो पुलको झोलुङ्गे संरचना दुई करोड रूपैयाँमा मर्मतसम्भार गर्न ६ महिनादेखि बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement