काठमाण्डु – भारतले शनिबार ८०औँ स्वतन्त्रता दिवस मनाउँदै छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित ऐतिहासिक लालकिल्लामा राष्ट्रिय ध्वजा झण्डात्तोलन गरी देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ।
लालकिल्लाको मञ्चबाट प्रधानमन्त्री मोदीको यो लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हुनेछ। सम्बोधन अघि प्रधानमन्त्री मोदीले जल, थल र वायु सेनाका साथै दिल्ली पुलिसका जवानहरूद्वारा प्रस्तुत गार्ड अफ अनरको सलामी ग्रहण गर्नेछन्।
त्यसलगत्तै राष्ट्रिय ध्वज फहराइनेछ। ध्वजारोहणको समयमा स्वदेशी प्रविधिसिर्जित १०५ एमएम लाइट फिल्ड गनबाट २१ तोपको सलामी दिइनेछ। प्रधानमन्त्रीको सम्बोधनपश्चात् एनसीसी क्याडेट्स र माई भारतका स्वयंसेवकहरूले वन्दे मातरम प्रस्तुत गर्नेछन् भने त्यसपछि राष्ट्रगान बजाइनेछ।
यस समारोहमा विभिन्न क्षेत्रका ५ हजार विशेष अतिथि, सर्वसाधारण र युवाहरूसहित करिब २७ हजार जनाको उपस्थिति रहने जनाइएको छ।




प्रतिक्रिया