भारतमा लोकसभाको पहिलो चरणको चुनाव आजदेखि सुरु


काठमाण्डु – भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनका लागि निर्वाचन हुँदैछ।

पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुने भएकाे हाे। पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् ।

एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा यस पटकको निर्वाचनमा ९६ करोड ९० लाख मतदाता रहेका छन्। ती मध्ये एक करोड ८० लाख मतदाताले पहिलोपटक मतदान गर्दैछन्।

यसैगरि ८२ लाख मतदाता ८५ बर्ष भन्दा बढी उमेर समूहका रहेका छन्। यी सबै मतदातालाइ आफ्नै घरबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। एक सय बर्ष उमेर काटेका मतदाताको संख्या २ लाख १८ हजार रहेको छ।

सात चरणमा हुने निर्वाचन ६ हप्तासम्म सञ्चालन हुने छ। २ हजार ६ सय भन्दा बढी राजनीतिक दलहरु निर्वाचनमा सहभागी छन्। निर्वाचनको अन्तिम परिणाम जुन ४ तारिखमा घोषणा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement