ब्रेकिंग न्युज विचार

भारतमा लोकतन्त्रको महासंग्राम, जनताको आत्महत्यामाथि मोदी भर्सेस गान्धी !

काठमाडौं – पुरानो लोकतन्त्र भएको देश भारतमा बिहीबारदेखि आमनिर्वाचन शुरू हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा मताधिकार प्रयोग गर्न समय नजिकै पुग्दा र आफ्नो नेता छान्न पाउँदा हर्षित हुनुपर्नेमा दुःखद घटना सुनिएका छन् ।

Dish Home

छिटपुट वा अपवाद भएपनि निर्वाचनको मुखमा जनताले आत्महत्या गरेर देशभर सन्देश दिन खाज्नु सामान्य घटना होइन । निर्वाचनको मुखैमा उत्तराखण्ड प्रदेशको हरिद्वार जिल्ला लक्सरस्थित डडकी गाउँका किसान ६५ वर्षीय ईश्वर चन्द शर्माले भारतीय जनता पार्टी (भाजपा) लाई भोट नदिन भन्दै आत्महत्या गरेका छन् ।

पछिल्ला विवरण र सर्वेक्षणअनुसार भारतमा पुनः भाजपाले नै बहुमत ल्याउने र नरेन्द्र मोदी प्रधानमन्त्री हुने आकलन गरिएको छ । तर किसान वर्गमा उनीप्रति खासै आशा नभएको शर्माको आत्महत्याले संकेत गर्छ । द टाईम्स अफ इन्डियाको समाचारअनुसार विष सेवन गरी आत्महत्या गरेका शर्माले सुसाइड नोटमा लेखेका छन्, ‘भाजपा सरकारले बितेका पाँच वर्षमा किसानलाई बर्बाद गरेको छ । त्यसैले उसलाई भोट नदिनू, नत्र उसले हर एकलाई चिया बनाउन लगाउँछ ।’

सायद किसानमा अरु पार्टी वा भारतीय कांग्रेसले जितेपनि केही सुधार हुने आशा छैन । मोदीभन्दा अघि कांग्रेसकै सरकार भएपनि किसानलाई खासै लाभ मिलेको थिएन । राजनीतिक प्रणाली र व्यवस्थाप्रति निराश बनेका जनताले चुनावको मुखमा आत्महत्या रोजे । उत्तराखण्डबाटै आत्महत्याको खबर आइरहँदा बिहीबारदेखि उत्तराखण्ड लगायत २० वटा प्रदेशमा निर्वाचन हुँदैछ ।

छिटपुट किसानले आत्महत्या रोजेपनि बिहीबारदेखि शुरू हुने चुनावमा भारत होमिएको छ, बहुसंख्यक जनताले मताधिकार प्रयोग गर्दैछन् । भाजपाबाट नरेन्द्र मोदी र कांग्रेसबाट राहुल गान्धीले चुनावी रथ हाकिरहेका छन् । मूलतः भारतीय चुनाव मोदी भर्सेस गान्धी बनेको छ ।

९० करोड मतदाता, ५४३ सांसद छानिने
भारतको जनसंख्या १ अर्ब ३० करोडभन्दा बढी छ । तर आजदेखि शुरू भएको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाता सहभागी हुने छन् । यसअघि सन् २०१४ को निर्वाचनमा ८१ करोड मतदाता थिए ।

मतदानका लागि १० लाख बढी मतदान केन्द्र निर्धारण गरिएका छन् भने ८ हजार २ सय ५१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चुनाव सकिएपछि २३ मईदेखि हुने मतगणनाबाट ५ सय ४३ सांसद निर्वाचित हुनेछन् ।

देशभर सात चरणमा चुनाव
बिहीबारबाट शुरू हुने निर्वाचन सात चरणमा हुने गरी तोकिएको छ । पहिलो चरणमा बिहीबार २० प्रदेशका ९१ सीटमा मतदान हुँदैछ ।दोस्रो चरणमा १८ अप्रिलमा १३ प्रदेशका ९७ सीटमा मतदान हुनेछ । तेस्रो चरणमा २३ अप्रिलमा १४ प्रदेशका ११५ सीटमा मतदान हुनेछ भने चौथो चरणमा २९ अप्रिलमा ९ प्रदेशका ७१ सीटमा मतदान हुनेछ ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार पाँचौ चरणको मतदान ६ मईमा ७ प्रदेशका ५१ सीटमा हुनेछ । छैठौं चरणको मतदान १२ मईमा ७ प्रदेशका ५९ सीटमा हुनेछ भने सातौं चरणको मतदान १९ मईमा ८ प्रदेशका ५९ सीटमा हुनेछ । विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भएका कारण मई २३ तारिखदेखि मतगणना शुरू भएलगत्तै निर्वाचन परिणाम सार्वजनिक हुन शुरू हुनेछ ।

कसको छ पल्ला भारी ?
विभिन्न क्षेत्रीय दलले स्थानीय स्तरमा तथा भाजपा र कांग्रेसले देशभर प्रतिस्पर्धा गरिरहेका छन् । कतिपय प्रदेशमा स्थानीय दलले समेत राष्ट्रिय दललाई टक्कर दिने देखिएको छ । तर स्थानीय दल सरकारको नेतृत्व गर्ने गरी भने नआउने निश्चितजस्तै छ ।नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले अपेक्षाकृत काम गर्न नसकेका कारण सत्तारुढ दलप्रति सर्वसाधारणमा असन्तुष्टि छ ।

तर त्यो असन्तुष्टिबाट कांग्रेसले फाइदा लिन सक्ने पनि स्पष्ट चित्र देखिएको छैन । चुनावअघि भएका सर्वेक्षणले केही कमजोर अवस्था भएपनि भाजपाले नै सत्ताको बागडोर सम्हाल्ने विश्लेषण गरेका छन् । मोदीको पुनरावृत्ति नै भारतका अधिकांश मतदाताको मूड रहेको विश्लेषण गरिएको छ । नरेन्द्र मोदीको उदय हुनुअघि कांग्रेसको पालामा मनमोहन सिंहले दुई पटक सत्ता सम्हालेका थिए । यसपटक नरेन्द्र मोदीले सत्ता सम्हाल्ने अवसर पुनः पाउने अनुमान गरिएको छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top