नेपाल–भारत ऊर्जा सहकार्य थप सुदृढ गर्ने सहमति

नेपाल–भारत ऊर्जा सहकार्य थप सुदृढ गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाल र भारतबिच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उद्देश्यसहित संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार संयुक्त निर्देशक समितिको १३औँ बैठक मंगलबार भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सहअध्यक्षतामा सम्पन्न भएको हो ।

त्यसअघि सोमबार संयुक्त कार्यदलको १३औँ बैठक भारत सरकारका विद्युत् मन्त्रालयका सहसचिव (प्रसारण) पंकज कुमार र नेपाल सरकारका ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको सहअध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकमा जलविद्युत् आयोजना विकास, विद्युत् व्यापार, सीमा पार प्रसारण पूर्वाधार तथा ऊर्जा क्षेत्रका अन्य द्विपक्षीय सहकार्यका विषयमा विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले ४०० केभी गोरखपुर–न्यू बुटवल प्रसारण लाइनसहित विभिन्न नयाँ प्रसारण पूर्वाधार निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने उपायबारे छलफल गरेका छन् ।

नेपाली र भारतीय विद्युत् ग्रीडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा पनि बैठकमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

संयुक्त निर्देशक समितिको बैठकअघि भारत सरकारका विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गरी द्विपक्षीय ऊर्जा सहकार्यका विविध विषयमा छलफल गरेका थिए ।

मन्त्रालयका अनुसार बैठकमा भएका छलफल र सहमतिले नेपाल–भारत ऊर्जा साझेदारीलाई थप सुदृढ बनाउन तथा भविष्यका ऊर्जा परियोजनाको कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।