काठमाण्डु– नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा व्यापक परिवर्तन गरेको छ।
भारतको गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ) का पूर्वप्रमुख आलोक जोशीलाई बोर्डको नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको हाे ।
आलोक जोशीले सुरक्षा र गुप्तचर क्षेत्रमा धेरै काम गरेका छन् । उनले २०१२ देखि २०१४ सम्म रअको प्रमुख र २०१५ देखि २०१८ सम्म अर्को गुप्तचर एजेन्सी नेशनल टेक्निकल रिसर्च अर्गनाइजेसन (एनटीआरओ)को अध्यक्षको रूपमा काम गरेका थिए।
जोशीले विशेष गरी नेपाल र पाकिस्तानमा गुप्तचर अपरेशनमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा अब विभिन्न क्षेत्रका विज्ञहरू सहित सात सदस्यहरू हुनेछन्। बोर्डमा सैन्य पृष्ठभूमिका ३ सेवानिवृत्त अधिकारी, २ सेवानिवृत्त भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी र एक सेवानिवृत्त भारतीय विदेश सेवा (आईएफएस) अधिकारी छन्।
नयाँ सदस्यहरूमा सेवानिवृत्त सैन्य अधिकारीहरू एयर मार्शल पीएम सिन्हा (पूर्व पश्चिमी वायु कमाण्डर), लेफ्टिनेन्ट जनरल एके सिंह (पूर्व दक्षिणी सेना कमाण्डर), र रियर एडमिरल मोन्टी खन्ना छन्।
यस्तै भारतीय प्रहरी सेवाबाट, राजीव रञ्जन वर्मा र मनमोहन सिंहलाई बोर्डमा समावेश गरिएको छ। यसमा सेवानिवृत्त भारतीय विदेश सेवा अधिकारी बी वेंकटेश वर्मा पनि समावेश छन्।
प्रतिक्रिया