काठमाण्डु – पाकिस्तानी भूभागबाट भारतीय क्षेत्र पहलगाममा २६ जनाको मृत्यु हुने गरी भएको आतंककारी आक्रमणको जवाफमा भएको युद्ध गत शनिबार अन्त्य भयो । युद्धबिरामको पहिलो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे ।
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेझै शनिबारदेखि नै भारत–पाकिस्तान युद्ध रोकियो । त्यसलगत्तै भारतमा केही असन्तुष्टि देखियो – पाकिस्तानलाई जवाफ दिने मौका भारतले अधुरै किन छाड्यो ?
यसबीच भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरभित्र आतंककारी अखडामा आक्रमण गरेको दाबी गरेको थियो । युद्धबिरामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देशवासीलाई सम्बोधन गरे । जसमा भनिएको छ, भारतले स्थायी युद्धबिराम गरेको होइन, युद्ध स्थगित मात्रै गरेको हो । उनले भने, ‘आगामी दिनमा हामी पाकिस्तानका हरेक गतिविधिलाई यसरी हेर्नेछौं कि उसले कस्तो रवैया अपनाउनेछ ?’ अर्थात् पाकिस्तानको गतिविधिअनुसार जवाफ दिन भारत हरदम तयार रहेको मोदीको सन्देश छ । यसमार्फत मोदीले युद्धबिरामले बढेको आन्तरिक असन्तुष्टि घटाउने कोसिस गरेका छन् ।
प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम लिएनन् । तर ट्रम्पले आफ्नो मध्यस्थतामा युद्धबिरामी भएको दाबी गरेका थिए । अमेरिकी उपराष्ट्रपति जेडी वेन्स तथा विदेशमन्त्री मर्काे रुबियोले पनि अमेरिकी मध्यस्थतापछि युद्धबिरामी भएको दाबी गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले गरेको सम्बोधनमा द्विपक्षीय तनाव न्युनीकरणमा भूमिका निर्वाह गरेकोप्रति अमेरिका, ब्रिटेन, टर्की, साउदी अरब, कतार, यूएई र संयुक्त राष्ट्रसंघका महासचिवलाई धन्यवाद दिएका थिए । तर मोदीले आफ्नो सम्बोधनमा कसैलाई सम्झिएनन् । मोदीले भारत–पाकिस्तानको बीचमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरेनन् । उनले भारत युद्धबिराममा सहमत हुनुको कारण खुलाउँदै भने, ‘धेरै नोक्सानी झेलिरहेको पाकिस्तानले भारतको सैन्य अभियानका महानिर्देशक (डीजीएमओ) लाई फोन गरेर पाकिस्तान आगामी दिनमा कुनै पनि आतंकवादी घटना गर्ने छैन र सैन्य दुस्साहस नदेखाउने प्रतिबद्धतापछि युद्धबिरामी भयो ।’
मोदीको सन्देशपछि अन्तरराष्ट्रिय मामिलाका वरिष्ठ पत्रकार इन्द्राणी बागचीले भने, ‘भारतले सधैं आफ्नो नीति स्पष्ट राखेको छ कि पाकिस्तानको मामिलामा कुनै तेस्रो देशको मध्यस्थता स्वीकार गरेको छैन ।’
राजनीतिक विश्लेषक अदिति फडणीस भन्छन्, ‘मोदी सरकारले सन् २०१६ मा उरीमा १९ भारतीय सैनिकको मृत्यु र पुलवामामा सीआरपीएफ जवानको मृत्युपछि पनि यस्तै भाषण सुनिएको थियो तर आतंकवादी हमला रोकिएका छैनन् ।’ मोदीले भनेका छन्, ‘हरेक आतंकवादी संगठनलाई थाहा हुनुपर्छ कि हाम्रा छोरी–बहिनीको सिन्दुर पुछ्दाको परिणाम के हुन्छ ?
भारतले युद्धभन्दा बढी सन्देश प्रधानमन्त्री मोदीको सम्बोधनबाट दिन खोजेको छ ।
प्रतिक्रिया