भारतले सैन्य आक्रमण गर्ने पाकिस्तानको दाबी

भारतले सैन्य आक्रमण गर्ने पाकिस्तानको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पाकिस्तानले भारतले आफूमाथि सैन्य आक्रमण गर्न सक्ने जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता कश्मीरको पहलगाममा भएको घातक आतंकवादी आक्रमणको जवाफ दिन भारतीय सेनालाई पूर्ण परिचालन स्वतन्त्रता दिएको समाचार आएपछि पाकिस्तानले यस्तो दाबी गरेको हो ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले आगामी दिनमा सैन्य आक्रमण गर्न सक्ने दाबी गरेका हुन् ।

पहलगाममा भएको आतंवादी आक्रमणपछि दुई आणविक शक्ति सम्पन्न छिमेकीबीच तनाव थप चर्चिएको छ ।

मंगलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय बैठकमा मोदीले सेना र सुरक्षा प्रमुखहरूसँग आतंकवादलाई ठूलो धक्का दिने भारतको राष्ट्रिय संकल्प रहेको बताएका थिए ।

पाकिस्तानका रक्षा मन्त्री आसिफले एक स्थानीय टेलिभिजनमा भारतले केही दिनमा हमला गर्नसक्ने दाबी गरेका छन् । त्यसअघि सोमबार इस्लामावादमा रोयटर्ससँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘हामीले हाम्रा सेनालाई सुदृढ गरेका छौँ किनभने भारतको आक्रमण अब आसन्न छ । यस अवस्थामा केही रणनीतिक निर्णयहरू लिनुपर्छ, र ती निर्णयहरू लिइसकिएको छ ।’

उनले भारतीय पक्षको बयानबाजी तीव्र भएको र पाकिस्तानी सेनाले सरकारलाई भारतको सम्भावित आक्रमणबारे जानकारी दिएको बताए पनि कुन खुफिया जानकारी वा घटनाक्रमले यो निष्कर्षमा पुगेको भन्ने खुलाएनन् ।

गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसिहत २८ जनाको ज्यान गएको थियो, जसलाई भारतले पाकिस्तानको समर्थनमा भएको आरोप लगाएको छ । इस्लामावादले यी आरोपहरू अस्वीकार गर्दै ‘निष्पक्ष र पारदर्शी छानबिन’ को माग गरेको छ ।

भारतले दुई सन्दिग्ध आतंककारी पाकिस्तानी नागरिक भएको दाबी गरेको छ । त्यसयता दुवै देशले सीमामा गोली हानाहान, कूटनीतिक नाकाबन्दी, नागरिक निष्कासन र मुख्य स्थल सीमा बन्द गर्ने कार्य गरेका छन् । भारतले सिन्धु जल सन्धि निलम्बन गरेको छ भने पाकिस्तानले भारतीय उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।

मोदीले गत बिहीबार पहलगाम आक्रमण गर्ने र समर्थन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

भारतीय प्रहरीले संयुक्त राष्ट्रसंघद्वारा घोषित आतंकवादी सङ्गठन लश्कर–ए–तैयबाका सदस्य रहेका दुई पाकिस्तानी र एक भारतीय गरी तीन जनालाई अधिक खोजीको सूची मा राखेको छ । काश्मिरमा ठूलो सङ्ख्यामा सैन्य कारबाही र आतंककारीको खोजी कार्य जारी छ ।