काठमाण्डु- भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच द्वन्द्व बढेको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन आफूहरू तयार रहेको बताएपछि दुई देशबीच द्वन्द्व बढेको हो ।
कश्मीर आक्रमणपछि भारतले पाकिस्तानसँग भएको सिन्धु जल सन्धि निलम्बन गरेको छ भने अटारी सीमा पनि बन्द गरेको छ । भारतको पछिल्लो कदमबाट पाकिस्तान रुष्ट बनेको छ ।
एक पाकिस्तानी टीभीसँग कुरा गर्दै पाकिस्तानका रक्षामन्त्री आसिफले पाकिस्तान कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिन १०० प्रतिशत स्थितिमा रहेको दाबी गरे ।
यद्यपि उनले जम्मु–कश्मीरमा भएको हमला निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने पनि बताएका छन् ।
पाकिस्तानले बलुचिस्तानमा भारतको संरक्षणमा आतंकवाद फस्टाउँदै गरेको दाबी गर्छ । भारतले पृथकतावादीहरूलाई आश्रय दिएको र थुप्रै बलुचिस्तानका पृथकतावादीहरू उपचारका लागि भारत जाने गरेको आरोप पाकिस्तानको छ ।
रक्षामन्त्री आसिफले भारतले पहलगाम घटनाका लागि अरूलाई दोष दिनुको सट्टा आफैँलाई जिम्मेवार बनाउनुपर्ने सुझाव पनि दिएका छन् ।
उनले भने, ‘यो पनि सम्भव छ कि पहलगाम आक्रमण भारत आफैँले गरेको ‘झुटा अपरेसन’ थियो ।’
मंगलबार जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसमेत २८ जना मारिएका छन् ।
यस आक्रमणमा भारतले पाकिस्तानको हात रहेको आशंका गरेको छ ।
भारतले बुधबार साँझ सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठक राखेर पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन तथा अटारी सीमा बन्द गर्नेलगायत निर्णय गरेको छ ।
बैठकले सार्क भिसा छुट कार्यक्रमअन्तर्गत अब पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ ।
यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र भारत छाड्न भनिएको छ । साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भारतले गरेको छ ।
जवाफमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पनि बिहीबार राष्ट्रिय सुरक्षा समितिको बैठक राख्दै छन् । जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार २८ जना मारिने गरी भएको आतंकवादी हमलामा ५ आतंककारी संलग्न रहेको खुलासा भएको दाबी भारतीय सञ्चारमाध्यमले गरिरहेका छन्।
तीमध्ये दुई जना स्थानीय व्यक्ति र तीन जना पाकिस्तानी रहेको तथ्य प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको दाबी गरिएको छ ।
सुरक्षा र गुप्तचर एजेन्सीहरूले संदिग्ध आतंककारीहरूको स्केच जारी गर्दै उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताएका छन् ।
गुप्तचर स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड लश्कर–ए–तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएका छन्, जो पाकिस्तानमा छन् ।
कश्मीरको लडाइँ
भारत र पाकिस्तानको बिझाइरहने घाउ कास्मिर हो । कास्मिरको पुरा भूमिमा दुवैको दाबी छ ।
भारत प्रशासित कास्मिरमा धेरै आतंकवादी हमला हुन्छन् । भारत त्यसको आरोप पाकिस्तानमा लगाउँछ । पाकिस्तान भारतको ‘आन्तरिक आतंकवाद’ भन्छ ।
सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।
भारत र पाकिस्तान दुवैले कश्मीर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ। इन्डस नदी एशियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो।
मंगलबार भएको घटनाले भने दुई देशको सम्बन्धमा दरार आएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स भारतमा आएकै समयमा कश्मीरमा आतंकवादी हमला भयो ।
आंकवादीहरूले हिन्दूहरूलाई छानिछानी गोली हानेको भारतीय मिडियाहरूको दाबी छ ।
भारतको अनन्तनाग जिल्लाको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा विश्वसँगै नेपालले पनि गरेको छ । यो घटनाले विरोधका स्वरहरूलाई भारत पाकिस्तान मात्रै होइन इस्लामविरुद्ध पनि प्रयोग गरिएको छ ।
भारतमा निर्वासित बङ्गलादेशकी साहित्यकार तललिमा नसरिनले कास्मिर हमलालाई लिएर इस्लामसँग जोडेर आक्रामक पोस्ट गरेकी छन् ।
उनले एक्समा लेखेकि छिन्, ‘जबसम्म इस्लाम बाम्च्छ, तबसम्म आतंकवाद बाँच्छ । जबसम्म इस्लाम बाँच्छ गैर इस्लामको कुनै सुरक्षा हुनेछैन ।’
प्रतिक्रिया