भारतले पाकिस्तानमा सैन्य कारबाही गर्ने सम्भावना कति ?

भारतले पाकिस्तानमा सैन्य कारबाही गर्ने सम्भावना कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको हत्या हुने गरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध कठिन अवस्थामा पुगेको छ ।

भारत विभाजन भएर पाकिस्तान बनेपछि दुवै देशले कश्मीरमा आफ्नो पूर्ण स्वामित्व हुनुपर्ने दाबी गर्दै आएका छन् । तर कश्मीर दुई भागमा विभक्त छ, एउटामा पाकिस्तानको र अर्कोमा भारतको शासन छ । पहलगाममा भएको रक्तपातपछि भारतले जनाउन सक्ने सम्भावित प्रतिक्रिया दबाव र विगतका नजिर दुवैले निर्धारण गर्ने विज्ञहरू बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको ठहर गर्दै प्रतिशोधात्मक कदम चालेको छ ।

यसका साथै भारतले पाकिस्तानसँगको सीमामा रहेको मुख्य नाका बन्द गरेको छ । यस्तै पानी बाँडफाँटको सिन्धु जल सम्झौता पनि स्थगित गरेको छ ।

भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई देशबाट निष्कासित गर्नुका साथै पाकिस्तानी राहदानी भएका मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ । तर पाकिस्तानले भने कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा विश्वसनीय अनुसन्धान र प्रमाणित तथ्यविना पहलगाम आक्रमणमा पाकिस्तानलाई जोड्ने प्रयास गरिएको उल्लेख छ ।

कार्यालयबाट जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइने छ ।’

पाकिस्तानले पनि भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ ।

बदलामा पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ । साथै, पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ ।

साथै पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय पनि गरेको छ ।
पहलगाम आक्रमण पछि परमाणु अस्त्र सम्पन्न भारत र पाकिस्तानबीच तनाव चर्किँदा सबैतिर चासो र चिन्ता बढेको छ ।

यता, भारतको पहलगाम आक्रमणमा सुरक्षा त्रुटि भएको स्वीकार गरेको छ । संसदीय मामिला मन्त्री किरेन रिजिजुले आईबी र गृह मन्त्रालयका अधिकारीहरूले बैठकमा सुरक्षा कमजोरीको बारेमा विपक्षी नेताहरूलाई जानकारी गराएका बताए ।

भारतमा रक्षामन्त्री राजनाथ सिंहले दिएको चेतावनीलाई ठूलो महत्त्व दिएर हेरिएको छ । उनले पहलगाम आक्रमणका दोषीहरूलाई मात्रै नभई भारतीय भूमिमा उक्त घृणित कार्यका योजनाकारहरूमाथि पनि कारबाही गर्ने उद्घोष गरेका छन् ।
विश्लेषकहरू अब भारतले सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नभन्दा पनि कहिले, कसरी र कस्तो सैन्य कारबाही गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण भएको ठान्छन् ।

‘आन्तरिक सरोकारवाला र पाकिस्तानमा भएका पात्रहरूलाई भारतीय दृढताको संकेत देखाउने खालको कडा प्रतिक्रिया हुने सम्भावना छ । सन् २०१६ र विशेष गरी २०१९ पछि भारतले गर्ने प्रतिवाद सीमापारि पाकिस्तानी भूमिमा गरिने आक्रमण वा हवाई हमला हुने तय भइसकेको छ’, सैन्य इतिहासकार श्रीनाथ राघवन भन्छन् ।