शान्ति उजाडिएको भारत-पाकिस्तान सीमामा कसरी चल्छ जीवन

शान्ति उजाडिएको भारत-पाकिस्तान सीमामा कसरी चल्छ जीवन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारत र पाकिस्तानलाई छुट्टयाउने नियन्त्रण रेखा (एलओसी) नजिक बस्नु भनेको धरमराउने शान्ति र खुला सङ्घर्षबीच तरबारको धारमा बस्नु जस्तै हो ।

पहलगाम हमलापछि हालै भारत र पाकिस्तानबीच भएको तनावले दुई देशलाई फेरि युद्धको सँघारमा पु¥याइदियो ।
एलओसीको दुवैतर्फ गोलाबारी भयो जसबाट घरहरू भग्नावशेषमा परिणत भए र मानिसहरूको ज्यान आँकडामा सीमित हुन पुगेको छ ।

एलओसीनजिक बस्ने परिवारहरू भारतीय र पाकिस्तानी सनकको सिकार हुनुपर्छ जसले चर्को तनावको सामना गर्नुपर्छ ।

गोली हानाहान हुनु उनीहरूका लागि सामान्य छ । खाली आफ्नो ज्यान जोगाउनु पर्छ । गोली हानाहान हुँदा हरेक पटक उनीहरू बंबरभित्र पस्न बाध्य हुन्छन्, चौपाया र जनजीविका नष्ट हुन्छन् । घर, अस्पताल, विद्यालयसहितका पूर्वाधार क्षतिग्रस्त हुन्छन् । दैनिक जीवनमा असुरक्षा र अस्थिरताको प्रभाव पर्छ ।

भारत र पाकिस्तानबीच ३,३२३ किलोमिटर सीमा जोडिएको छ जसमा ७४० किलोमिटर एलओसी र करिब २,४०० किलोमिटर अन्तर्राष्ट्रिय सीमा पर्छ ।

एलओसीको सुरुवात सन् १९४९ मा प्रथम भारत–पाकिस्तान युद्धपछि युद्धविराम रेखाको रूपमा भएको थियो र सन् १९७२ को शिमला सम्झौताअन्तर्गत त्यसको नाम फेरियो ।

भारत र पाकिस्तान दुवैले पूर्ण दाबी गर्दै आएका र निश्चित हिस्सामाथि दुवैको प्रशासन रहेको कश्मीरमा पर्ने एलओसी विश्वकै अत्यधिक सैन्यकरण भएको सीमामध्ये एक हो ।

त्यहाँ द्वन्द्व कहिल्यै सकिँदैन र अर्को उक्साहटपूर्ण कार्य नभएसम्मका लागि मात्र युद्धविराम टिकाउ हुन्छ ।

सन् २०२१ को युद्धविराम सम्झौतापछि एलओसीमा अस्थायी रूपमा कायम शान्ति दुई परमाणु अस्त्र सम्पन्न देशबीचको हालैको शत्रुतापछि तहसनहस हुन पुग्यो ।

भारत–पाकिस्तान सीमामा हिंसा कुनै नौलो होइन । सन् २००३ को युद्धविरामअघि भारतले सन् २००१ मा उल्लङ्घनका ४,१३१ र २००२ मा ५,७६७ वटा घटना भएको जनाएको थियो ।

सन् २००३ को युद्धविराम सुरुमा कायम रह्यो र सन् २००४ देखि २००७ को अवधिमा उल्लङ्घनका नगन्य घटना भए । तर सन् २००८ मा फेरि तनाव देखियो भने सन् २०१३ सम्म तीव्र रूपमा बढ्यो ।

सन् २०१३ देखि २०२१ को सुरुवातको अवधिमा नियन्त्रण रेखा तथा अन्तर्राष्ट्रिय सीमामा उच्च तहका द्वन्द्वहरू देखियो । सन् २०२१ को फेब्रुअरीमा भएको नयाँ युद्धविरामपछि हिंसामा तत्काल र सन् २०२५ को मार्चसम्म निरन्तर कमी आयो ।

जसका कारण सीमा वारपार गोलाबारीको समय नजिक बस्ने हजारौँ मानिसहरू विस्थापित हुने गरेका छन् ।

युद्धविराम उल्लङ्घन र सीमा वारपार गोली हानाहानका घटनाका कारण सन् २०१६ को सेप्टेम्बर र डिसेम्बरको सुरुतिरको अवधिमा २७ हजार मानिसहरू विस्थापित भए । अहिले त्यो चिन्ताजनक र अनिश्चित लाग्ने क्रम बढेको छ ।

परमाणु अस्त्र सम्पन्न दुई देशबीच १०५ एमएम मोर्टार, १५५ एमएम आर्टिलरी बन्दुक र एन्टीट्याङ्क गाइडेड क्षेप्यास्त्रहरू नियमित रूपमा प्रयोग हुन्छ ।

गैरसैनिक क्षेत्रमा कुनै उक्साहटपूर्ण कार्यविनै भारतले फायरिङ गराउने गरेको पाकिस्तानले आरोप लगाउने गरेको छ ।
भारत–पाकिस्तान सीमामा युद्धविराम उल्लंघनका घटना हुनुमा उच्चस्तरीय राजनीतिक रणनीतिभन्दा स्थानीय स्तरमा सैन्य पक्ष बढी जिम्मेवार रहेको बताइन्छ ।

कतिपय विज्ञ भन्छन्–कश्मीर विवाद समाधानका निम्ति नियन्त्रण रेखा बदलियोस्, तारबार, बंकर, खाडल र आक्रामक सेनायुक्त फलामे पर्दा समेत फेरियोस् र त्यहाँ सूतीको पर्दा टाँगियोस् ।

सन् २००४ देखि २००७ को बीचमा नियन्त्रण रेखालाई एउटा सफ्ट बोर्डरमा परिणत गर्ने कुरा भारत–पाकिस्तान नयाँ शान्ति प्रक्रियाको केन्द्रमा थियो जुन पूरा हुन सकेन ।

अहिले सीमामा फेरि तनाव भड्किएको छ र त्यसले ती मानिसहरूलाई हिंसा र अनिश्चितताको चक्रमा फेरि ल्याइदिएको छ जो त्यसको छायामा बस्छन् ।

उनीहरूलाई अब के हुन्छ भन्ने कुरा कहिल्यै थाहा हुन्न । जब उनीहरूको झ्याल युद्धमैदानतर्फ खुल्छ तब शान्ति कति नाजुक हुन्छ भन्ने कुरा उनीहरूलाई मात्र थाहा हुन्छ ।