काठमाण्डु- भारतले पाकिस्तान र पाकिस्तानद्वारा प्रशासित कश्मीरका ९ स्थानहरूमा मिसाइल र हवाई हमला गरेर आतंवादविरुद्ध ‘अपरेशन सिन्दूर’ अभियान सुरु गरेको छ ।
विश्वसनीय गुप्तचर सूचनाका आधारमा चरमपन्थीहरूका अड्डाहरूमाथि भारतले कारबाही स्वरूप पाकिस्तानमाथि बुधबार बिहान हवाई आक्रमण गरेको हो । जसमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानले आफ्नो भूमिा भारतले ६ स्थानहरूलाई निशाना बनाएको जबाफ दिएको छ । भारतका पाँच लडाकु विमान र एक ड्रोन खसालेको दाबी पनि पाकिस्तानले गरेको छ । तर भारतले यसबारे कुनै पुष्टि गरेको छैन ।
पछिल्लो महिना जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गरेर गरिएको घातक चरमपन्थी हमलापछि परमाणु सम्पन्न दुई देशबीच तनाव उत्पन्न भएको हो ।
पहलगाम आक्रमणमा पाकिस्तानका आतंकवादी र बाह्य तत्वहरू संलग्न रहेको स्पष्ट प्रमाण आफूसँग रहेको भारतीय दाबी छ जसलाई पाकिस्तानले अस्वीकार गरेको छ ।
सन् २०१६ मा उरी आक्रमणमा १९ भारतीय सैनिकहरू मारिएपछि भारतले एलओसी पार गरेर पाकिस्तानविरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरेको थियो । सन् २०१९ को पुलवामा हमलामा भारतका अर्धसैनिक बलका ४० जवान मारिएपछि भारतले सन् १९७१ पछि पहिलो पटक पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो ।
विश्लेषकहरूका अनुसार यसपटकको कारबाहीको दायरा भने निकै ठूलो छ, जसमा पाकिस्तानका तीन प्रमुख चरमपन्थी समूहहरू–लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र हिजबुल मुजाहिद्दिनका अड्डाहरूलाई निशाना बनाइएको छ ।
यसपटक भारतले पाकिस्तान र पाकिस्तानद्वारा प्रशासित कश्मीरका ९ वटा आतङ्कवादी अड्डाहरू’मा हमला गरेको हो ।
सीमाबाट मात्र १८ किलोमिटर टाढा रहेको सियालकोट र सबैभन्दा टाढाको निशाना बहावलपुरमा भारतले आक्रमण गरेको हो । बहावलपुरमा जैश–ए–मोहम्मदको मुख्यालय छ जसलाई भारतले ध्वस्त पारिदिएको छ ।
यस्तै, मुजफ्फराबादमा रहेको लश्करको क्याम्पको सम्बन्ध भारत प्रशासित कश्मीरमा हालै भएको हमलासँग रहेको बताइएको छ । पाकिस्तानले भने आफ्नो भूमिमा कुनै आतंकवादी शिविर नरहेको र उसमाथि आक्रमण भएको दाबी मात्रै गरिएको बताएको छ ।
भारतका इतिहासकार श्रीनाथ राघवनका यसपटक भारतले फरक शैलीले सीमा पार आक्रमण गरेको बताउँछन् ।
यसअघि बालकोट आक्रमणजस्ता कारबाहीहरू मुख्यतया पाकिस्तान प्रशासित कश्मीरमा सीमित थिए । उनले भने, ‘तर यसपटक भारतले अन्तर्राष्ट्रिय सीमा पार गरेर पाकिस्तानको पंजाबसम्म लश्कर, जैश र हिजबुलका संरचनाहरूमाथि हमला गरेको छ । यो अधिक व्यापक, भौगोलिक रूपले विस्तृत प्रतिक्रिया हो ।’
भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमा दुई देशलाई छुट्याउने आधिकारिक सीमारेखा हो, जुन गुजरातदेखि जम्मुसम्म फैलिएको छ ।
पाकिस्तानमा भारतका पूर्वउच्चायुक्त रहिसकेका अजय बिसारियाका अनुसार यी आक्रमणहरू पहिलेको भन्दा बढी सटीक, लक्षित र प्रत्यक्ष थिए । त्यसैले पाकिस्तानलाई प्रत्याक्रमण गर्न कठिन भएको उनी ठान्छन् ।
धेरै विशेषज्ञहरूका अनुसार पाकिस्तानले भारतीय आक्रमणको प्रतिउत्तर दिने निश्चित छ, तर त्यसका लागि कूटनीतिक र सैन्य सामथ्र्य चाहिन्छ, जुन अहिले पाकिस्तानसँग छैन ।
बिसारियाले भने, ‘पाकिस्तानको जवाफ आउँछ भन्ने निश्चित छ । तर चुनौती यो हुनेछ कि यसले अर्को स्तरको संघर्षमा नपुगोस् ।’
लाहोरका राजनीतिक विश्लेषक एजाज हुसैनका अनुसार सीमापार सर्जिकल स्ट्राइकको सम्भावना बलियो देखिन्छ । तर उनी चिन्तित छन् कि यस्तो स्थिति सीमित पारम्परिक युद्धमा परिणत हुन सक्छ ।
अमेरिकाको अल्बानी विश्वविद्यालयका क्रिस्टोफर क्लैरीका अनुसार भारतको व्यापक आक्रमण र क्षतिको आधारमा पाकिस्तानको जवाफ निश्चितजस्तै देखिन्छ ।
उनका अनुसार पाकिस्तान आफैंलाई भारतीय सैन्य ठिकानासम्म सीमित राख्न सक्छ ।
यद्यपि केही विशेषज्ञहरू अझै तनाव कम हुने आशामा छन् । तर जोखिम अझै बाँकी छ र यो स्थिति सन् २००२ पछि सबैभन्दा खतरनाक मानिन्छ ।
इस्लामाबादका विश्लेषक उमर फारूकका अनुसार अहिले पाकिस्तानमा सन् २०१६ वा २०१९ जस्तो युद्ध उन्माद छैन, तर जनभावनामा परिवर्तन आए सार्वजनिक दबाबमा सेना सक्रिय हुन सक्छ ।
प्रतिक्रिया