काठमाण्डु – भारत र पाकिस्तानबीच परम्परागत शत्रुता छ । लामो समयदेखि रहँदै आएको यी २ देशको शत्रुतापूर्ण सम्बन्धले पटक–पटक युद्ध पनि भएको छ ।
पछिल्लो समय कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि यी २ देशबीच फेरि तनाव उत्पन्न भएको छ र युद्ध पनि सुरु भएको छ ।
सन् १९४७ मा २ सय वर्ष लामो बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तान विभाजित भएको थियो । यी २ देशबीच कश्मीरको विषय विवाद छ । दुवैले कश्मीरलाई आफ्नो भूमि दाबी गर्छन् ।
युद्ध र आक्रमणको शृंखला
सन् १९४७ को विभाजनपछि दुवै देशले ४ ठूला युद्ध लडिसकेका छन् । तर कश्मीरकै कारण सन् १९४७–४८ मा पहिलो भारत–पाकिस्तान युद्ध भयो । त्यसपछि सन् १९४७–४८, १९६५, १९७१ र १९९९मा युद्ध भयो ।
आतंकवादी हमलाले भारत–पाकिस्तान सम्बन्धलाई सधैं जटिल बनाउने गर्छ । सन् २००८ को मुम्बई हमलामा लस्कर–ए–तैयबाले १६६ जनाको ज्यान लिएका थिए ।
सन् २०१६ को उरी हमलामा जम्मू–कश्मीरमा १९ सैनिक मारिए । सन् २०१९ को पुलवा हमलामा ४० अर्धसैनिक मारिए । भारतले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा जैस–ए–मोहम्मदको शिविरमा हवाई हमला गर्यो ।
यस वर्ष पहलगाम कश्मीरमा भएको आक्रमणमा १ नेपालीसहित २८ जना पर्यटक मारिए । आक्रमणमा लस्कर–ए–तैयबासँग सम्बद्ध ‘द रेजिस्टेंस फ्रन्ट’को हात रहेको भारतको दाबी छ ।
सन् २०१४ मा तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले पेशावरको आर्मी पब्लिक स्कुलमा आक्रमण गर्यो, जसमा १३२ बालबालिकासहित १४९ जना मारिएका थिए । पाकिस्तानले भारतीय खुफिया एजेन्सी ‘रअ’को संलग्नता भएको दाबी गरेको थियो ।
पछिल्लो घटना सन् २०२५ मा बिएलएले जाफर एक्सप्रेस रेल हाई ज्याक गर्यो, जसमा १०० भन्दा बढी मारिएको दाबी छ । घटनामा पाकिस्तानले भारत र अफगानिस्तानलाई दोषी ठहरायो ।
परमाणु शक्ति
ग्लोबल फायरपावर इंडेक्स २०२५ अनुसार भारत सैन्य ताकतमा पाकिस्तानभन्दा कयौं गुना अगाडि छ ।
विश्वको सैन्य क्षमतामा भारतको स्थान चौथो छ भने पाकिस्तान १२औन् स्थानमा छ । भारतसँग धेरै सक्रिय सैनिक, आधुनिक टैंक, मिसाइल, वायुसेना र नौसेनाका साथै रणनीतिक हथियारहरू पनि छ ।
भारत र पाकिस्तान दुवै राष्ट्र परमाणु शक्ति सम्पन्न छन् । भारतले सन् १९७४ मा पहिलो परमाणु परीक्षण र सन् १९९८ मा पूर्ण हतियार विकास गरेको थियो । जवाफमा पाकिस्तानले पनि सन् १९९८ मा परीक्षण गरेको हो । हाल भारतसँग १७२ र पाकिस्तानसँग १७० परमाणु वारहेड छन् । दुवैसँग ब्यालिस्टिक मिसाइल छ । भारतको अग्नि–५, पाकिस्तानको शाहीन–० छन् ।
सैन्य र आर्थिक तुलना
भारत विश्वको चौथो ठूलो सैन्य शक्ति हो । यसको सैन्य बजेट ७४ अर्ब डलर छ । भारतसँग १४ लाख सक्रिय सैनिक छन् । भारतसँग २ हजार २ सयभन्दा धेरै लडाकु विमान (राफेल, सु–३०, तेजस), १५० भन्दा धेरै नौ सैनिक जहाज (दुई विमानवाहकसहित) र ४ हजार ५०० भन्दा धेरै ट्यांक छन् ।
पाकिस्तानको सैन्य बजेट १० अर्ब डलर छ भने ७ लाख सक्रिय सैनिक छन् । इस्लामवादसँग १ हजार ३०० भन्दा धेरै लडाकू विमान जे–१७, एफ–१६०, १०० भन्दा धेरै नौ सैनिक जहाज र ३ हजार २०० भन्दा धेरै ट्यांक छन् ।
भारतको स्वदेशी रक्षा प्रणाली (तेजस, ब्रह्मोस मिसाइल) र अन्तर्राष्ट्रिय साझेदारी (राफेल, एस–४००० ले सैन्य शक्ति बलियो बनाएको छ । पाकिस्तानको ड्रोन प्रविधि र मिसाइल प्रणाली शाहीन–३० उल्लेखनीय छ । भारतको हवाई र नौ सैनिक शक्ति बलियो छ । तर पाकिस्तानको भौगोलिक लाभ (कश्मीरको पहाडी क्षेत्र) ले रक्षात्मक रणनीतिमा फाइदा दिन्छ ।
भारतको कूल ग्राहस्थ उत्पादन (जीडीपी) झण्डै ४ खर्ब डलर छ । प्रतिव्यक्ति आय २ हजार ८०० डलर छ । यसको वैदेशिक मुद्रा सञ्चय ६३० अर्ब डलर छ, जसले युद्धलाई लामो समय धान्न सक्छ ।
पाकिस्तानको जीडीपी ३५० अर्ब डलर छ भने प्रतिव्यक्ति आय १ हजार ५०० डलर छ । पाकिस्तानसँग वैदेशिक मुद्रा सञ्चय १० अर्ब डलर छ, जसले आर्थिक संकटको जोखिम बढाएको छ । भारतको बलियो अर्थतन्त्रले कूटनीतिक र सैन्य क्षेत्रमा फाइदा दिन्छ ।
यदि पूर्ण युद्ध भएमा भारतको ठूलो सेना, उन्नत प्रविधि (राफेल, ब्रह्मोस) र बलियो अर्थतन्त्रले फाइदा दिन सक्छ । यसको नौ सैनिक शक्तिले पाकिस्तानको कराची बन्दरगाह अवरुद्ध गर्न सक्छ । उता पाकिस्तानको परमाणु हतियार, जे–१७ विमान, ड्रोन र कश्मीरको भूभागले रक्षात्मक लाभ दिन्छ ।
परमाणु युद्धको जोखिमले ठूलो युद्धको सम्भावना कम गरेको छ । तर सर्जिकल स्ट्राइक जस्ता सीमित कारबाही हुने कुरा असम्भव छैन । अहिलेको ताजा अवस्था हेर्दा भारत लामो लडाइँमा जान सक्छ भने पाकिस्तान छोटो युद्धमा जान तयार देखिन्छ ।
प्रतिक्रिया