भारतमा रेल दुर्घटना : ३ नेपालीको मृत्यु

भारतमा रेल दुर्घटना : ३ नेपालीको मृत्यु


काठमाण्डु- भारतको महाराष्ट्रको जलगाउँमा बुधबार भएको रेल दुर्घटनामा ३ नेपालीको पनि मृत्यु भएको छ । महाराष्ट्र राज्यको पचोरा रेल्वे स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो । यसै क्रममा केही यात्रुले रेलको चेन तानेका थिए, जस कारण ट्रेन रोकियो र भयभीत भएका यात्रुहरूले बाहिर हामफालेका थिए ।

त्यसैबीच अर्को ट्रयाकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुल्चेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जलगाउँका प्रहरीले दुघंटनामा १२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा ३ जना नेपाली नागरिक पनि रहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ । नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नबीन भण्डारी रहेको समाचारमा जनाइएको छ । उनीहरूको ठेगाना भने खुल्न सकेको छैन ।

दुर्घटनामा ४० जना यात्रुहरू घाइते छन् । जलगाउँको सरकारी अस्पतालमा १२ शव ल्याइएको छ । जसमध्ये ७ जनाको पहिचान भइसकेको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ३ जना महिला रहेका छन् ।