भारतमा रेल चल्यो, नेपालमा त्रास


बुटवल – भारतमा मंगलबारदेखि रेल सेवा सञ्चालनमा आएको छ। ‘रेड जोन’मा नपरेका क्षेत्रमा लकडाउन खुकुलो पारिएको छ। ‘ग्रिन जोन’ क्षेत्रमा त गाडी नै चलाउन थालिएको छ। यससँगै नेपालमा झनै कोरोना भाइरस फैलिने जोखिम देखिएको छ। झापाका सीमावर्ती पाँच स्थानीय तहका बासिन्दाले असुरक्षित महसुस गर्न थालेका छन्।

‘५५ वर्ष सीमामा बिते, कहिले पनि असुरक्षा महसुस भएन। दसगजामा भारतीयलाई नै दाजुभाइ बनाएर जीवन बितायौं। अहिले कोरोनाले गर्दा भारत नै सबैभन्दा ठूलो समस्या भएको छ’, गौरीगन्ज गाउँपालिका–४ का शमशेर गणेश भन्छन्, ‘अब त भारतबाट कोही आए भने कोरोना लिएर आउने हो कि भन्ने लाग्छ। बच्चादेखि बूढाबूढीसम्म त्रसित छौं।’

उनको जमिन भारतीय नागरिकले भाडामा लिएर खेती गरेका छन्। मकै बाली पाकेका कारण शमशेरले नै थन्क्याइदिने योजना बनाएका छन्। ‘जीवन ठूलो हो नि ! उनीहरू यता आउन सम्भव छैन। उनीहरूसँगै रोग पनि भित्रिने सम्भावना छ’, उनी भन्छन्, ‘त्यसैले मैले नै बाली सम्हाल्ने प्रयास गरिदिएको हुँ।’

गौरीगन्ज–४ का वडाध्यक्ष कुलप्रसाद गिरी सुरक्षा हिसाबले भारतबाट सहजै नेपाल प्रवेश गर्ने सम्भावना नरहेको बताउँछन्। ‘वडाबाट भारततिर आफन्तकहाँ गएर उतै रोकिएका दुई–चार जनाबाहेक अरू भारतमा अड्किएको अवस्था छैन’, उनी भन्छन्।

उता रेल सञ्चालनमा आएकाले उता गएका मजदुर नेपाल फर्किएपछि चुनौती बढ्ने सबैको बुझाइ छ। ‘एउटा स्थानीय तहले थेग्ने कुरा हैन’, कचनकवल–५ का वडाध्यक्ष महेशलाल गणेश भन्छन्, ‘भारतले लकडाउन कसिलो पार्दासम्म सीमा क्षेत्रमा त्यस्तो डर थिएन। भारतमा खुकुलो भएपछि नेपालमा डर भयो।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement