भारतले नेपालका राजदूतको फोन ह्याक गरि जासुसी गरेको खुलासा


काठमाण्डु – भारतले दिल्लीमा रहेका नेपालका राजदूतको फोन ह्याक गरि जासुसी गरेको खुलासा भएको छ । भारतले पेगासेस नाम गरेको स्पाइवेयर प्रयोग गरेर भारतमा रहेका नेपाली राजदूत तथा पत्रकारको फोन ह्याक गरि जासुसी गरेको भारतीय पत्रिका द हिन्दुले उल्लेख गरेको छ ।

समाचारका अनुसार उक्त स्पाइवेयर प्रयोग गरेर भारतमा रहेका इरान, अफगानिस्तान, चीन र नेपालका कूटनीतिज्ञ, पत्रकारहरू तथा भारतका लागि पाकिस्तानका हाई कमिस्नरको फोनमाथि जासुसी गरिएको हो ।

फ्रेन्च पत्रिका ‘ले मोन्डे’ लाई उद्धृत गर्दै ‘द हिन्दु’ले सन् २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित एक फोनकल पनि रहेको दाबी गरेको छ । कुनै पनि देशले विदेशी कूटनीतिज्ञमाथि निगरानी गर्नु सामान्य मानिन्छ । तर, भारतले भने फोन नै ह्याकिङ गरी जासुसी गरेको समाचारमा उल्लेख छ । तर, भारत सरकारले भने दिल्लीमा रहेका कुटनीतिज्ञहरुमाथि जासुसी गरेको आरोपलाई खण्डन गरेको छ ।

अमेरिकामा रहेको वासिङ्टन पोस्ट, बेलायतमा रहेको द गार्जियन र भारतमा रहेको द वायरले सोमबार सार्वजनिक गरेको समाचारमा जासुसीको सम्भावित सूचीमा बेलायती उच्च आयोगका अधिकारी, दुई अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का दुई अधिकारी र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी समेत रहेको उल्लेख छ ।

ले मोन्डेका अनुसार सन् २०१७ को जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलको भ्रमण गरे लगत्तै ‘पेगासस’ सफ्टवेयरको प्रयोग गर्न सुरु गरिएको थियो । उक्त भेटमा मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गोप्य छलफल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement