चीनसंग सीमा जोडिएको क्षेत्रमा अमेरिका र भारतबीच संयुक्त सैन्य अभ्यास हुंदै


काठमाण्डु– भारतीय सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला भारत र अमेरिकी सेनाबीच चीन नजिकै सैन्य अभ्यास हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

चीनको सीमा नजिक दुवै देशका सेनाबीच अक्टोबर १४ देखि ३१ सम्म सैन्य अभ्यास हुने भएको हो । सैन्य अभ्यास भारतको उत्तराखण्ड राज्यको औलीको १० हजार फीट उचाईमा हुने जनाइएको छ । यसअघि उक्त सैन्य अभ्यास अमेरिकाको अलास्कामा भएको थियो ।

औली वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट ९५ किलोमीटर टाढा छ । यो उत्तराखण्डको दूर्गम ठाउं हो, जहां भारत र चीनबीच विवादित सीमा लगभग सीमांकन गरिएको छ । उत्तराखण्डसंग नेपालको समेत सीमा जोडिएको छ । उक्त सैन्य अभ्यास उच्च उचाईको युद्ध तालिममा केन्द्रीत हुनेछ ।

नेपाली सेनाले समेत उत्तराखण्डमा भारतीय सेनासंग सूर्य किरण नामक सैन्य अभ्यास गर्दै आएको छ ।
युद्धअभ्यासमा भारतीय पक्षले आफ्नो युद्धकला अनुभव प्रर्दशन गर्नेछ भने अमेरिकी सेनाले त्यस्तो परिदृश्यहरुमा प्रयोग गर्न सकिने प्रविधिहरु प्रदर्शन गर्नेछ ।

‘युद्ध अभ्यास’ भनेर चिनिने उक्त सैन्य अभ्यासको यो १८ औं संस्करण हो । सन् २०२० को जुनमा चिनियां सेनासंगको भिडन्तमा २० भारतीय र चार चिनियां सैनिक मृत्यु भएपछि दुवै मुलुकको सम्बन्ध तनावपूर्ण छ ।

चीनले पाङ्गोङ त्सो तालमा पुल बनाएपछि तनाब बढेको थियो । अमेरिकी सेनाको प्यासिफिकका कमाण्डर जनरल चाल्र्स फ्लिनले चीनले सीमा नजिक बनाएको भौतिक संरचनालाई डरलाग्दो भएको प्रतिक्रिया दिएका थिए ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले भारतसंगको साझेदारी स्वतन्त्र र खुला प्यासिफिक क्षेत्रको लागि साझा दृष्टिकोणको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । उनले क्षेत्रीय सुरक्षा चुनौतीहरुको दायरालाई सम्बोधन गर्न र क्षमता अभिवृद्धि गर्नको लागि यो अभ्यास संचालन गरिएको दावी गरे ।

भारत र चीनबीच लामो समयदेखि सीमा विवाद छ । दुबै मुलुकले सीमा क्षेत्रमा ठुलो संख्यामा सेनाको उपस्थिती कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement