भारतीय सेनाले भन्यो – नेपालबाट सडक मार्ग हुँदै आएका केहीले घुसपैठ गर्छन्


काठमाण्डु – भारतीय सेनाले जम्मू–कश्मीरमा हुने गरेका आतंककारी गतिविधिमा नेपालबाट सडक मार्ग हुँदै आएका केहीले घुसपैठ गर्ने गरेको आरोप लगाएको छ ।

आज बुधबार भएको आतंककारी समूहसँगको मुठभेडपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले पुंछ र रजौरी क्षेत्रमा घुसपैठ हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले भने, ‘हामीले विदेशी आतंककारीलाई लाइन अफ कन्ट्रोलमै मार्न कोसिस गर्‍यौं । तर यो क्षेत्रमा यस्तो पनि छ, यहाँ पञ्जाब, नेपाल वा बाँकी ठाउँबाट सडक मार्ग हुँदै केही व्यक्ति आउँछन् र घुसपैठ गर्न चाहन्छन् । भर्खरै जुन घटना भएको छ, जसमा हाम्रो जवानको सहादत भएको छ, यसमा हामीले राम्रो कारवाही गरेका छौं ।’

पछिल्लो घटनाको थप जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement