भारतीय सेनाध्यक्षको बिदाईमा जे–देखियो (फोटो)


काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमण सम्पन्न गरि आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेका थिए ।

आज बिहान उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थिहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा बताएका थिए । स्वदेश प्रस्थान गर्नु पूर्व, भारतीय स्थल सेनाध्यक्ष नरवणेले प्रधानमन्त्रीसँग शिष्टाचार भेटघाट गरेका थिए ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्या भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएका भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणेको सम्मानमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए ।

रक्षा सचिव, परराष्ट्र सचिव तथा भूतपूर्व प्रधान सेनापतिहरुको उपस्थिति रहेको उक्त रात्रीभोजको दौरान दुवै प्रधान सेनापतिहरुले दुई सेनाबीचको परम्परागत सम्बन्धको चर्चा गर्दै उक्त सम्बन्ध सुदृढ गर्नमा यो भ्रमण फलदायी भएको उल्लेख गरेका थिए ।

हिजो नै जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरुमा खुला छलफल भएको थियो । भेटवार्ताकै क्रममा, विद्यमान नेपाल–भारत विलाटेरल कन्सल्टेटिभ ग्रुप मिटिङ अन सेक्युरिटी इस्यू अन्तर्गत दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमहरु लगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement