भारतिय विदेशमन्त्रीले विवादास्पद अभिव्यक्तिप्रति मागिन् माफि


नयाँदिल्ली – भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिका लागि सार्वजनिक रुपमै माफी माग्नु परेको छ ।

साेमबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री स्वराजले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ बताइकी थिइन्। उनले त्यस्तो अभिव्यक्ति दिएको केही क्षणमै अनलाइन सञ्चारमाध्यम र ट्वीटरलगायतका सामाजिक सञ्जालमा तीब्र विरोध सुरु भएको थियो।

विरोध बढ्दै गएपछि पत्रकार सम्मेलन सकिएको करिब पाँच घन्टा पछि राति साँढे १० बजे आफ्नै ट्वीटर ह्याण्डलबाट ‘मेरो तर्फबाट गल्ती भएको’ भन्दै उनले माफी मागेकी हुन्।

विगत चारवर्षमा भारतको विदेश मन्त्रालयले हासिल गरेका उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा स्वराजले जनकपुरको सभालाई मोदी सरकारको चार वर्षको विदेश नीतिको एउटा सफल उदाहरणका रुपमा प्रस्तुत गर्ने क्रममा उक्त कुरा उल्लेख गरेकी थिइन्। ‘अमेरिकाको म्याडिसन स्क्वायरदेखि जनकपुरमा देखिएको लाखौं लाख भारतीयलाई सम्बोधन गरेर प्रधानमन्त्री मोदीले सीधै उनीहरुसँग सम्बन्ध जोड्नु भएको छ,’ कार्यक्रममा स्वराजले बताइन्। उनले प्रधानमन्त्री मोदीले त्यहाँ उपस्थित लाखौं नागरिकहरुसँग गरेको साक्षात्कारलाई भारतले विगत चार वर्षमा विदेशमा रहेका आफ्ना भारतीय नागरिकहरुसँग गरेको सम्बन्ध विस्तारका रुपमा अथ्र्याएकी थिइन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र त्यहाँ आयोजित कार्यक्रमलाई लिएर नेपालको केन्द्र सरकार र दुई नम्बर प्रदेश सरकारबीचको सम्बन्ध चिसिएको बेला विदेश मन्त्री स्वराजको यस्तो भनाईले आगोमा घ्यू थप्ने काम गरेको छ। आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement