नरावणेको भ्रमणले दुबै देशका सेनाबीचको सम्बन्धलाई अझ गाढा बनाउँछ: भारतीय दूतावास


काठमाण्डु – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन् ।

सेनाध्यक्ष नरावणेको भ्रमणलाई लिएर नेपालमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । भारतीय दूतावासले नरावणेको भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबूत हुने दाबी गरेको छ । दूतावासका प्रवक्ता नविन कुमारले नेपाल र भारतीय सेनाबीच थग गाढा सम्बन्ध स्थापित हुने दाबी गरेका छन् ।

‘नरावणेको भ्रमणले दुबै देशका सेनाबीचको लामो समयदेखि रहेको र परम्परागत सम्बन्धलाई अझ गाढा बनाउँछ’, उनले भने ।

सेनाध्यक्षको भ्रमणले दुवै देशका सेनाबीच छलफल गर्न अवसर प्रदान गर्ने र आपसी हितका लागि सम्बन्ध मजबुत बनाउन अवसरको खोजी गर्ने प्रवक्ता कुमारले बताए ।

‘उनको भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने अवसर प्रदान गर्नेछ र आपसी हितका लागि यसलाई अझ मजबुत बनाउनका लागि अवसरहरू पत्ता लगाउनेछ’, उनले भने ।

नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको दोस्रो दिन जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन् । जङ्गी अड्डाबाट प्राप्त अभिलेखअनुसार सन् १९५० मा भारतीय सेनाअध्यक्ष केएम परिअप्पालाई पहिलोपटक मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गरेको उक्त अभिलेखमा उल्लेख छ । भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४औं सेनापति हुन् ।

सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नेछन् । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement