भारतको द्रूतरेललाई किन लाग्यो पहिलो यात्रामै ठेस


एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भोलिपल्टै त्यहाँको सबैभन्दा द्रूत गतिको रेलको पहिलो यात्रा नै अवरूद्ध हुन पुगेको छ। भारतमै निर्माण गरिएको मध्यम खाले द्रूत गतिको बन्दे भारतु एक्सप्रेस बनारसबाट राजधानी दिल्ली फर्कंदै थियो।

तर उसले आफ्नो पहिलो यात्रा पूरा नहुँदै एउटा डिब्बाको ब्रेक जाम भएर समस्या झेल्नुपर्‍यो। भारतीय सञ्चारमाध्यमले रेलसेवाका एकजना प्रवक्तालाई उद्धत गर्दै रेलले यात्राको क्रममा कतै जनावरलाई ठक्कर दिएको हुनसक्ने बताए। तयारीका क्रममा उक्त रेल प्रतिघण्टा १८० किलोमिटरसम्म कुदाइएको थियो।

ब्रेकमा समस्या आउनेबित्तिकै चालकले पछिल्ला चार डिब्बामा धूँवा उडेको देखेका थिए भने अन्य सबैमा बिजुली गएको थियो। त्यसमा धेरैजसो रेल सेवाका कर्मचारी र पत्रकारहरू यात्रा गरिरहेका थिए। उनीहरूले पछि दिल्ली फर्कन अर्को रेल चढ्नुपरेको थियो। रेल मन्त्रालयले ठाने अनुसार बन्दे भारतले एउटा गाईलाई ठक्कर दिएको हुनसक्छ।

एनडिटिभीको एक रिपोर्ट अनुसार त्यसको कुनै प्रभाव रेलको अग्रभागमा देखिएको छैन। यस नयाँ रेलको व्यावसायिक यात्रा आइतवारबाट सुरु हुने अपेक्षा गरिएको छ। जसले दिल्ली र धार्मीक शहर बनारसबीचको यात्रालाई ६ घण्टामा झार्ने अपेक्षा गरिएको छ। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस
Advertisement