शिक्षा र खानोपानीको क्षेत्रमा भारत सरकारको १७ करोड सहयोग 


काठमाण्डु-  भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढेको छ ।

१७ करोड लागतका परियोजनाहरु अघि बढाउन शुक्रबार भारतीय राजदूतावास, काठमाडौं र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

सामुदायिक विकास परियोजना शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन, दार्चुलाको व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण,  र संखुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माणको काम अघि बढनेछ । 

त्यसैगरी खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन उदयपुरको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी, शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।  

परियोजना निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।  

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । 

यस मध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् । सबै परियोजनाको कूल लागत ७ सय ६२ करोड रहेको छ । यी परियोजनाहरु धेरै जसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएको भारती दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement