उपसभामुखद्वारा असम्बन्धित व्यक्तिलाई भिसाको मिति अगाडि ल्याउन सिफारिस गरेको स्वीकार

उपसभामुखद्वारा असम्बन्धित व्यक्तिलाई भिसाको मिति अगाडि ल्याउन सिफारिस गरेको स्वीकार

पत्र लेखेको डेढ वर्षपछि विवादित गर्न खोज्नु आफूविरुद्धको नियोजित कदम भएको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपसभामुख इन्दिरा रानाले आफूले पाँच जनालाई भिसाको मिति अघि सारिदिन नेपालस्थित संयुक्त राज्य अमेरिकाको दूतावासलाई आग्रह गरेको स्वीकारेकी छन् ।

उपसभामुख रानाले आज विज्ञप्ति जारी गर्दै आफू राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा भाग लिन जाँदा आफूलाई पनि साथी हुने देखेर भिसाको अन्तर्वार्ताको मिति अघि सारिदिन पत्र लेखिदिन आग्रह गरेकाले पत्र लेखिदिएको स्वीकारेकी हुन् । उनले त्यो महिलासम्बन्धी कार्यक्रममा महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका ४ पुरुष र १ महिलालाई सँगै लग्न अमेरिकी दूतावासमा पत्राचार गरेकी थिइन् ।

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा हुँदा कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुख रानाले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङलाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन् ।

उनीहरू पनि आफू सहभागी हुने कार्यक्रममा जान लागेको भन्दै रानाले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासलाई उपभामुखको पत्रमा दूतावास विश्वस्त नभएकाले पाँच जनाले भिसा पाएनन् ।

‘गत वर्ष २०२३ को मार्च महिनामा ‘कमिसन अन द स्टाटस अफ वुमेन’ सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने बैठकमासहभागिताको लागि म लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूताबासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूताबासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’, रानाले विज्ञप्तिमा लेखेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय राजदूताबासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन ।’

उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिकिया तथा दृष्टिकोणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको रानाले बताएकी छन् ।

उनले पत्र लेखिएको डेढ वर्षपछि विवादित गर्न खोज्नु आफूविरुद्धको नियोजित कदम भएको उल्लेख गरेकी छन् । ‘पत्र लेखेको झण्डै डेढ बर्षपछि विवादित गराउन खोज्नु म बिरुद्ध नियोजित कदम रहेको देखिन्छ’, उनको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी र सचिवालयभन्दा बाहिरका मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै उनले उपसभामुखको लेटरहेडमा अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी छन् ।