काठमाण्डु – इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५ बजेभन्दा नुसा तेन्गाराको फ्लोरेस क्षेत्रमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्प करिब १५ किलोमिटर गहिराइमा गएको र त्यसपछि लगातार परकम्पहरू आएका थिए।
पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको छ ।
भूकम्पका कारण पूर्वी नुसा तेन्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेन्गारा प्रान्तमा सुनामीको जोखिम रहेको जनाइएको छ । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायतका क्षेत्रमा झण्डै एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।
कम्पनलगत्तै नागरिक घरबाहिर निस्किएर सुरक्षित ठाउँतर्फ भागेका थिए । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट कम्तिमा दुई जनाको मृत्यु भएको छ । इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो । यहाँ प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ का कारण बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्।




प्रतिक्रिया