काठमाण्डु-आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका दरबार स्क्वायरमा बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्र जात्रा सुरु भएको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।
इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा वसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन् र सित र हुस्सुले वातावरणलाई छोपेर कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।
इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ ।
असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया