काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा मात्र सकिएका हुन् ।
कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । बन्दाबन्दीका कारण खाना पकाउने ग्यासको विकल्पमा आमउपभोक्ताको आकर्षण इन्डक्सन चुलोतिर बढेको थियो । कम्पनीले उपत्यकामा सञ्चालन गरेका विभिन्न पाँचवटा बिक्री केन्द्र काठमाडौँको रामशाहपथ, थापाथली, ललितपुरको लखनखेलस्थित प्रयाग पोखरी, भैँसेपाटीस्थित नख्खुचोक, भक्तपुरको सूर्यविनायकबाट दैनिक पाँच सय इन्डक्सन चुलो बेचेको थियो ।
कम्पनीले थप इन्डसक्न चुलो ल्याउने योजना छ तर त्यसका लागि समय भने लाग्ने सो कम्पनीका प्रमुख नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले यही मूल्यको र गुणस्तरको इन्डक्सन चुलो ल्याउन छलफल भइरहेको र मन्त्रालयका सचिव पनि सकारात्मक रहेको बताउनुभयो ।
पछिल्लो समयमा धेरै उपभोक्ता इन्डक्सन चुलो खरिदका लागि खाद्य कम्पनीका बिक्री केन्द्रमा पुग्ने गरेका छन् । उपभोक्ता बिक्री केन्द्रमा टाँसिएको सूचना हेरेर प्रवेशद्वारबाटै फर्किने गरेका छन् । २०७२ मा नाकाबन्दीका बेला इन्धनको चरम अभाव भएकाले चीन सरकारले अनुदानमा १२ हजार थान इन्डक्सन चुलो पठाएको थियो ।
तत्कालीन नेसनल टे«डिङ लिमिटेडले बेच्ने गरी सुरुमा चुलोको बिक्री मूल्य ११ हजार रुपियाँ तोकिएको थियो तर सोचे अनुसार बिक्री नभएपछि मूल्य घटाएर प्रतिचुलो चार हजारमा झारिएको थियो । दुई वर्ष पहिले नेसनल टे«डिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाइएपछि उक्त कम्पनीले चुलो बेचेको हो । नयाँ कम्पनी बनेपछि मौज्दात सात हजार ४३५ चुलो बेचेको हो ।याे समाचार गाेरखापत्र दैिकमा छ ।




प्रतिक्रिया