काठमाण्डु-नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंकामा अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)को अनुसन्धानमा तानिएका छन् ।
नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाहीसहित तीन नेपालीलाई आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंका गर्दै सिङ्गापुर प्रहरीले इन्टरपोलमार्फत सोधखोज गरेको खुलासा भएको छ ।
इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरको निगरानीमा रहेका एक नेपालीसँग सम्बन्ध देखिएका डिएसपी शाही अनुसन्धानमा तानिएका हुन् ।
डीएसपी शाहीसँगै कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजङ्ग शाह पनि अनुसन्धानमा तानिएका छन् ।
सिङ्गापुर प्रहरीले उनीहरूको पृष्ठभूमि र अन्य विवरण नेपाल प्रहरीसँग मागेको हो । सिङ्गापुर प्रहरीले उनीहरूका गतिविधि, कुनै आपराधिक घटनामा संलग्नता, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिङ्गापुरसँग जोडिएको विषयबारे जानकारी पठाउन आग्रह गरेको थियो । प्रहरीले शाहीका सबै विवरण इन्टरपोललाई पठाइसकेको छ ।
एनसीबीले ९ साउनमा पत्राचार परेपछि नेपाल प्रहरीले पनि डीएसपी शाहीबारे आन्तरिक अनुसन्धान गरिरहेको छ ।
कालीकोट स्थायी घर भई हाल मलेसियामा रहेका, विवादास्पद पृष्ठभूमि भएका र आतंकवादी क्रियाकलापमा जोडिएका महेन्द्रजङ्ग शाहसँग डिएसपी शाही मलेसियामा सँगै देखिएका थिए ।
प्रहरीका अनुसार इन्टरपोलले सोधखोज गरेका मध्ये महेन्द्रजङ्ग २० वर्षदेखि मलेसियामा बस्दै आएका छन् । उनी एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत हुन् । दीपेन्द्र बहादुर माओवादी केन्द्रका स्थानीय नेता हुन् । महेन्द्र र दीपेन्द्र नजिकका नातेदार पनि हुन् । दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत थिए ।
महेन्द्रसँगै सिंगापुर अध्यागमन नोटिसमा परेका डिएसपी शाही मलेसियाबाट नेपाल फर्केको एक महिनापछि इन्टरपोल प्रहरीले उनीहरूको विवरण मागेको थियो । महेन्द्रले कुनै बेला काठमाडौंको थानकोटका इन्द्रवीर महर्जनसँग तीन लाख रूपैयाँ तथा नवलपरासी बेल्डियाका ओमबहादुर मल्लसँग १४ हजार आरएम लिएर नक्कली भिसा लगाएको विषयमा मलेसिया प्रहरीले प्रवेशमा रोक लगाएको हो ।
डीएसपी शाही अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् । उनी इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख हुँदा दीपेन्द्रसँग परिचय भएको थियो । पारिवारिक कुराकानीका क्रममा महेन्द्रले दीपेन्द्र र हेमराजलाई मलेसिया घुम्न निम्ता गरिरहन्थे ।
प्रतिक्रिया